चैत ३, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत भेला गर्ने भाँडोभैलौ मच्चाउन नदिने बताएका छन् । बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले नेता तथा कार्यकर्तालाई अनुशासनमा बस्न र गुटगत भेलामा सरिक नरहन पनि सचेत गराए ।
‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन, पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन’ उनले भनेका छन्, ‘ गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’
उनले समानान्तर कमिटी बनाउने कुरा पार्टी विधि र पद्धति बाहिरको कुरा रहेको बताए । उनका अनुसार त्यस्ता गतिविधि पार्टीलाई स्वीकार्य छैन् ।
केही मानिसहरु निहुँ खोजिरहेका छन्, भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे’ उनले भने, ‘पार्टीको विधि र पद्धति बाहिरका यस्ता कुरा स्वीकार्य हुन सक्दैन् ।’
वि.सं.२०७७ चैत ३ मंगलवार १३:३६ मा प्रकाशित






























