३ चैत्र, काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माधव नेपाल–झलनाथ खनाल पक्षले बुधबार बोलाएको राष्ट्रिय भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
पार्टीले आधिकारिक रुपमा कुनै भेला आयोजना नगरेको उल्लेख गर्दै राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपाल कम्युनिष्ट पार्टी(एमाले)को नाममा यहि २०७७ चैत्र ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनि प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । नेकपा(एमाले)का तर्फबाट त्यस्तो कुनै पनि भेला आयोजना गरिएको छैन ।
यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला अयाोजनाको भ्रम नफैलाउन, र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा(एमाले) सबै नेता/कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ । अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ । ’
मंगलबार राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित कार्यक्रममा पार्टी सचिव योगेश भट्टराईले उद्घाटन समारोहमा आउन पार्टी अध्यक्ष ओलीलाई निम्ता दिएको बताएका थिए । ‘भट्टराईले आफूहरु प्रत्येक कारबाही सहन तयार रहेको बताएका थिए ।
वि.सं.२०७७ चैत ३ मंगलवार २०:४४ मा प्रकाशित