
चैत ५, काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकले गुटगत भेला नगर्न र गुटगत भेलामा नजान सांसदहरुलाई निर्देशन गरेको छ । बालुवाटारमा बसेकाे बैठकले गुट भेलामा जानेहरुलाई आत्माआलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन पनि आव्हान गरेको छ ।
दलको बैठकले निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । ‘गुटगत भेला गर्ने र भेलामा सहभागी हुनेलाई पार्टीको विधानअनुसार स्पष्टिकरण सोध्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकमा सहभागी एक सांसदले भने ।
बैठकले संसदीय दलको विधान संशोधन समिति पनि गठन गरेको छ । जनाइएअनुसार दलको विधान संशोधन गर्न विशाल भट्टराईको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । जहाँ भट्टराईसहित शेरबहादुर तामाङ र विमला राई सदस्य छन् ।
आजको बैठकलाई नेता माधव कुमार नेपाल पक्षले भने बहिस्कार गरेको छ । माधव पक्ष अन्तिमसम्म नै बैठकमा सहभागी हुने वा बहिस्कार गर्ने भन्नेमा अन्यौंलमा थियो । जसको कारण बैठकमा सहभागी हुन् केहि सांसद बालुवाटारसमेत पुगेका थिए ।
सम्बन्धित समाचार
बालुवाटारमा सुरु भयो एमाले संसदीय दलको बैठक, नेपाल पक्ष अनुपस्थित