
धेरैले भनेको सुनें
खुकुरी र अचानोको सम्बन्ध
जब बुझ्न खोजें
पटक पटक
टुक्रा टुक्रामा धार भाँचिएको खुकुरी देखें
खुकुरी समाएका हातहरू देखें
पटक पटक
छ्याल्लव्याल्ल भएको अचानो देखें
तर
मेरो भद्दा दिमागले बुझ्न सकेन
खुकुरी र अचानो कुन बलवान हुन्छ
अर्थात
चोट बोक्ने र चोट दिनेमा
कुन बढि शक्तिशाली हुन्छ
हरेक धारिलो मारमा
खुकुरी ठोकिने अचानो मै हो
पहिलो अबरोधमै खुकुरीको बेगलाई थेग्ने
खुकुरीको गति रोकिदिने
अचानो मै हो
छ्याकछ्याक घाउ बोकेर पनि
पुराना चोटहरू नमेटिदा
खुकुरीका प्रहारहरू
मौन बसेर
छाती थाप्ने पनि अचानो नै हो
जसको छातीबाट
न कहिल्यै रगत बग्छ
जसको आँखाबाट
न कहिल्यै विरहको आँसु बग्छ
देख्नेहरू पनि
हरेक चोटमा थामिएको प्रेम
अचानोले छातीमा बोकेको पीडा
कहिल्यै बुझ्दैनन्