
काठमाडौं । लामो समयदेखी चर्चा र पर्खाइमा रहेको मेलम्चीको पानी यहि चैत्र १५ गते काठमाडौं उपत्यकावासीको धारामा आउने भएको छ । १३ र १४ गते बल्कमा पानी जम्मा गरिने र १४ गते सबै धारामा पानी छोडिने मन्त्रालयका सहसचिव रमेश न्यौपानेले सन्सार न्युजलाई बताए ।
सहसचिव न्यौपानेका अनुसार १५ गते पहिलो दिन महांकाल, अनामनगर र खुमालटार क्षेत्रमा ४ करोड लिटर र दोस्रो दिन ६ करोड लिटर पानी छोडिने छ । १५ गतेदेखी केही समय सम्म निरन्तर परिक्षणको रुपमा पानी छोड्ने तयारी भएको सहसचिव न्यौपानेको भनाइ छ ।
उपत्यकावासीको घरका धारामा परिक्षणको क्रममा पानी छोड्दा समस्या देखिएमा तत्काल सामाधानको लागि खानेपानी मन्त्रालयका सचिवको नेतृत्वमा समन्वय तथा सहजीकरण समिती गठन गरिएको छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव १/१ जना सदस्य रहनेछन । त्यस्तै सो समितिमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सदस्यको रुपमा रहने र सदस्य सचीवको रुपमा खानेपानी मन्त्रालयका सहसचिव रहने निर्णय गरिएको सहसचिव न्यौपाने बताए ।
सुन्दरीजलवाट पानी वितरण गरिएको अवस्थामा कहिंकतै समस्या देखिएमा तत्काल सामाधान गरिने ढंगले सो समिति काम गर्ने सहसचिव न्यौपानेको भनाइ छ ।