स्याङ्जा । आँधिखोला गाउँपालिकाका किसानहरुले ५० प्रतिशत अनुदानमा गोला सहित मौरीको घार पाउने भएका छन् । आर्थिक वर्ष ०७७/०७८ को वार्षिक कार्यक्रममा शमाबेश गरि किसानहरुलाई अनुदानमा गोला सहितको मौरीको घार वितरण गर्न लागिएको पालिकाले जनाएको छ ।
पालिका भित्र रहेका व्यवसायीक तवरले मौरी पाल्न चाहने किसानहरुलाई लक्षित गरेर सो कार्यक्रम सञ्चालन गरिएको पालिकाका अध्यक्ष सुधिर पौडेलले बताए । मौरी पालन सम्बन्धि तालिम प्राप्त गरेका र विधि अनुरुप पालिका कार्यालयमा निवेदन दिएका किसानहरुले लक्षित कार्यक्रमबाट मौरी सहितको घारमा अनुदानमा प्राप्त गर्ने अध्यक्ष पौडेलको भनाई छ ।
मौरी पालन गर्न चाहनेहरुलाई लक्षित गरेर पालिकाले सुचना, कार्यविधि र निवेदनको ढाँचा सार्वजनिक गरेको छ । जसअनुसार सम्बन्धित किसानहरुले यहि चैत्र २५ गतेभित्र तोकिएको ढाँचामा कार्यालयमा निवेदन दिनुपर्नेछ । जसको लागि इच्छुक किसानले आवेदन फारम, व्यवसायीक कार्ययोजना, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र मौरीपालन सम्बन्धि तालिमको प्रमाणपत्र बुझाउनुपर्ने पालिकाले सुचनामार्फत जनाएको छ ।
आँधिखोला गाउँपालिका हावापानी र वातावरणको हिसाबले मौरीपालनको लागि उपयुक्त वातावरण भएकाले ईच्छुक किसानलाई व्यवसायीक बनाउन पालिकाले प्रवद्र्धन स्वरुप कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलको भनाई छ । पौडेलका अनुसार पालिकाले सुरुवात देखि अहिलेसम्म ३ सय ५० घार माहुरी अनुदानमा वितरण गरिसकेको छ भने चालु आर्थिक वर्षमा १ सय घार वितरण गर्ने कार्यक्रम राखेको छ ।
वि.सं.२०७७ चैत ११ बुधवार ०९:२० मा प्रकाशित































