back
CTIZAN AD

कुटो कोदालोदेखि कम्प्युटरसम्मको शिक्षा

वि.सं.२०७३ माघ १८ मंगलवार

717 

shares

 १८ माघ ,खोटाङ। विद्यालय भन्नेबित्तिकै बिहान बेलुका घरको काम भ्यायो, दिउँसो कक्षामा सरहरुले पढाएको किताबको पाठ पढ्यो र फक्र्यो । बेलुका घरमा आएर गृहकार्य ग¥यो अनि फेरि भोलिपल्ट विद्यालय गएर सरलाई बुझायो ।

नेपालको शिक्षा नीति यसैको परिधिभित्र रुमल्लिएको छ । अहिलेको पुस्ताले आर्जन गरेको शिक्षा किताबी ज्ञानमा मात्र सीमित छ, व्यावहारिक छैन । देशविदेशका ठूल्ठूला शिक्षाविद्ले लेखेका पुस्तक पढ्यो, अन्त्यमा पढायो–पढायो पाठ, सोह्र दुना आठ…भन्ने उखान मै चरितार्थ हुनपुग्छ । धेरैले भन्ने गर्छन्, नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना मात्र हो ।

हुन पनि हो, प्राथमिक तहदेखि उच्च शिक्षासम्म हासिल गरेका एउटा विद्यार्थीले काम कसरी गर्ने ?, प्रक्रिया के के हुन् ? कसरी काम गर्दा नयाँ÷नयाँ वस्तुको आविष्कार गर्न सकिन्छ ? भनेर कहिल्यै सिकेका हुँदैनन् । यही पुरातन शैलीको शिक्षाका कारण आज लाखौँ युवाशक्ति विदेश पलायन हुनुपरेको छ । तर, पछिल्लो समय जिल्लामा एउटा यस्तो विद्यालय स्थापना भएको छ कि जहाँ कुटो कोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिइन्छ ।

दुई वर्षअघि विद्यार्थी नभएर खारेजीमा परेको दिक्तेल नगरपालिका–५ सोल्मास्थित जनजागृति प्राविमा व्यावहारिक शिक्षा दिन थालिएपछि उदाहरणीय विद्यालयका रूपमा परिणत भएको छ । अहिले उक्त विद्यालयमा पुग्दा सबै विद्यार्थी आ–आफ्नै काममा व्यस्त हुन्छन् । कोही खेतीकिसानी, कोही कम्प्युटर, कोही डकर्मी त कोही आरनमा व्यस्त रहेका हुन्छन् । इन्जिनियर, पाइलट, प्रोफेसर, धनी, गरिब, कर्मचारी, नेता, कलाकार, दैवीप्रकोपमा परेका व्यक्तिलगायतका छोराछोरी अध्ययन गर्ने विद्यालयको नाम राखिएको छ ‘नयाँ विद्यालय’ । नयाँ विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने ५० जना शिक्षकले अध्यापन गराइरहेका छन् ।

व्यावहारिक शिक्षा दिइने विद्यालयका भित्तामा लेखिएको छ ‘कोदालोमा क्रान्ति, कलममा क्रान्ति, कम्प्युटरमा क्रान्ति’ । ‘ध्यान दिएर सुनौँ, नियालेर हेरौँ…, काममुखी शिक्षा, शिक्षामुखी विकास…, मानवद्वारा सिर्जित दिसा, पिसाब र पसिना बिरुवाका लागि अति राम्रो
खाना हो…, हुलको हैन रुलको शासनमा मरिमेटौँ… आदि ।’

विद्यालयको भित्तामा यसरी लेखिएका नारा पढ्नेबित्तिकै कमै मानिस मात्र प्रभावित नहोलान् । विद्यालयमा पुग्ने अधिकांशले विद्यालय सञ्चालकलाई सोध्ने गरेका छन्, “यी विद्यार्थीले पढ्नुपर्दैन ?, कतिबेला पढ्छन् ?, उत्तीर्ण हुनलाई परीक्षा दिनुपर्दैन ?” तर, कुरा अर्कै रहेको छ । उनीहरुले जुन काम गरिरहेका हुन्छन्, त्यो उनीहरुको व्यावहारिक शिक्षा हुन् । त्यहाँ अध्ययन गर्ने विद्यार्थी कोही असफल हुँदैनन् । उनीहरु अन्य विद्यालयका विद्यार्थीभन्दा सैद्धान्तिक विषयमा पनि अब्बल छन् ।

विद्यालयका सञ्चालक सूर्यबहादुर राई भन्नुहुन्छ – “सरकारी विद्यालयमा पढाइने शिक्षा र यहाँको शिक्षामा आकाशपातालको फरक छ । यहाँ अध्ययन गर्ने विद्यार्थीले चौबीसै घन्टा सबैखाले शिक्षा लिन्छन् । तर, त्यो शिक्षा बेरोजगारी शिक्षा भएको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीले कामसँगै शिक्षा लिन्छन्, उनीहरुले भविष्यमा बेरोजगार बस्नुपर्ने अवस्था हुन्न ।”

तत्कालीन अवस्थामा तीन शिक्षकको दरबन्दी भएको त्यस विद्यालयमा सात जना मात्र विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेज गरेको थियो । बाह्र वर्षपछि खोला पनि फर्किन्छ भन्ने उखान झँै समयले यसरी कोल्टे फे¥यो कि उक्त विद्यालयमा पूर्वका झापा, इलामदेखि पश्चिमका जुम्ला हुम्लासम्मका ३२ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।

विसं २०६१ बाट शैक्षिक गतिविधि सुरु गरेको विद्यालयमा अहिले १५० जना विद्यार्थी रहेका छन् । उनीहरुका लागि बिना शुल्क आवासीय सुविधासमेत व्यवस्था छ । अभिभावक र विद्यालय व्यवस्थापन समितिको मेहनतले यतिखेर कुटो कोदालोदेखि कम्प्युटरसम्मको दिने विद्यालयका रूपमा नाम कमाएको छ । खारेजीमा परेको विद्यालय अभिभावकको पहलमा विद्यार्थी खोजी गरेर फेरि सञ्चालनमा ल्याइएको हो । अहिले त्यस विद्यालयमा शिक्षाप्रेमी तथा अभियन्ता सूर्यबहादुर राई व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् ।

“विद्यालयमा जमिन, जङ्गल र जलसम्मको पठनपाठन हुन्छ,” अध्यक्ष राईले भन्नुभयो – “विद्यार्थीलाई बारीमा गएर बारीसम्बन्धी सबै शब्द र अर्थ बुझाइन्छ । खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ । यसो गर्दा विद्यार्थीले कहिल्यै भुल्दैनन् ।”

विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप गर्न एक हजार २०० रोपनी जग्गा उपलब्ध गराइएको छ । तलदेखि माथिसम्म औद्योगिक क्षेत्र जस्तै देखिने विद्यालयमा विद्यार्थी–विद्यार्थी मिलेर आन्तरिक आयस्रोत बढाउन कुखुरा फार्मसमेत खोलिएको छ ।

विद्यालय परिसरभित्रै विभिन्न जातका हाँस, कुखुरा, परेवा, सुँगुर, बाख्राखसी, गाईभँैसी, घोडाजस्ता पशुपक्षी पालिएका छन् । तिनीहरुको हेरचाह विद्यार्थी आफैँले रुटिङअनुसार गर्ने गरेका छन् । यतिसम्म कि उनीहरु गाडी चलाउन, बिग्रेका गाडी आफँै बनाउन, त्यहाँ चाहिने विभिन्न औजार आफैँ बनाउन सक्छन् ।

विद्यालयमा आर्थिक स्थिति निम्न भएका र भूकम्पपीडितलाई विशेष प्राथमिकता दिएर भर्ना गरिएको सञ्चालक समितिले जनाएको छ । त्यहाँ अध्ययनरत विद्यार्थी सबै खुसी छन् । तीन वर्षअघिदेखि त्यहाँ अध्ययनरत डोल्पाका अति विपन्न परिवारका टेकबहादुर खाती भन्छन् – “हाम्रा लागि सीपसँगै शिक्षा आर्जन गर्न अत्यन्तै सहज भएको छ । अहिले म कक्षा ६ मा अध्ययन गर्छु । मेरा लागि स्वर्गमा पुगे जस्तो भएको छ ।”

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यसखाले पठनपाठनले आफू प्रभावित भएको बताउनुभयो । “पाठ्यक्रमकै आधारमा कृषि, पशुपक्षी, घर निर्माण, उद्योग, कम्प्युटरलगायत जीवनोपयोगी ज्ञान दिने विधि अपनाइएको पाइयो,” उहाँले भन्नुभयो – “यहाँको शिक्षण विधि अपनाउने हो भने शैक्षिक क्षेत्रमा परिवर्तन गर्न धेरै समय लाग्दैन ।”

विद्यालयको शिक्षकमध्ये सरकारी दरबन्दीमा अहिले प्रावि तहका एक जना (सविता ढकाल) मात्र छन् । विद्यालय सञ्चालनका लागि कृषिविज्ञ मदन राईले खोल्नुभएको शुभम् फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।

विद्यार्थीका लागि हरेक शुक्रबार साँझ ‘गुड फ्राइडे’ भनेर साङ्गीतिक, सांस्कृतिक, साहित्यिक तथा मनोरञ्जनात्मक कार्यक्रम राखिएको छ । विद्यार्थीले आयोजना गर्ने कार्यक्रममा केन्द्र तथा जिल्लास्तरका राजनीतिक दलका प्रतिनिधि र कार्यालय प्रमुख पनि बेलाबेला सहभागी हुने गरेका छन् ।

वि.सं.२०७३ माघ १८ मंगलवार ११:३४ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...