१७ चैत्र, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व तथा वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनबाट सिंगो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षत पुगेको बताएका छन् ।
नेता मानन्धरको निधनप्रति शोक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले भनेका छन् ‘नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व तथा वरिष्ठ वामपन्थी नेता आदरणीय कमरेड विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधनको भएको खबरले स्तब्ध बनाएको छ । दिवंगत नेता मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ ।’
उनले नेता मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पु(याएको योगदानको सधैं स्मरणीय रही रहने विश्वास व्यक्त गरेका छन् ।
‘हाम्रो पार्टी दिवंगत कमरेड मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोक सन्तप्त परिवारजन तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछ ।’ शोक वक्तव्यमा उल्लेख छ ।
अध्यक्ष प्रचण्डले बिहान पशुपति आर्यघाट पुगेर मानन्धरमाथि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
२००७ सालमा आफ्नै घरबाट विद्रोहको बिगूल फुकेका नेता मानन्धरले २००९ सालको रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए ।
वि.सं.२०७७ चैत १७ मंगलवार १४:०३ मा प्रकाशित






























