
२४ चैत्र, काठमाडौँ । नेपाल खेलकुद महासंघ (नेकोस) ले केन्द्रीय कमिटी विस्तार गरेको छ । चैत २१ गते भएको केन्द्रीय कमिटीको निर्णय सावर्जनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराइयो ।
नेपाल खेलकुद महासंघका अध्यक्ष पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले ३ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव थप गरिएको जानकारी गराए । उपाध्यक्षमा सर्लाहीका रेवती पन्त, काठमाडौंका उपेन्द्र पौडेल र ललितपुरका वीरेन्द्र श्रेष्ठ, महासचिवमा काभ्रेका धर्मकुमार श्रेष्ठ, उप–महासचिवमा सिन्धुपाल्चोकका बद्री अधिकारी र मोरङका रविन नगरकोटी तथा सचिवमा डडेल्धुराकी सकुन्तला नगरकोटी, ललितपुरका स्वयम्भूराज डंगोल, काठमाडौंका ईश्वर विडारी, खोटाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष अर्जुनभक्त राई, धनुषाका प्रदीप यादव, दोलखाका रमेश सिवाकोटी र दैलेखका मोहन शाही रहेका छन् । त्यस्तै १ सय ३ सदस्य पनि चयन गरिएको छ ।
बैठकले प्रदेशहरुको नेतृत्व र कार्यविभाजन गर्दै सातै प्रदेश र उपत्यकामा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव पनि तोकेको छ । प्रदेश १ मा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव केशवकुमार विष्ट, प्रदेश २ मा महमद समिउल्लाह, बागमती प्रदेशमा ब्रदी अधिकारी, उपत्यकामा उपेन्द्र पौडेल, गण्डकी प्रदेशमा प्रेम गुरुङ, लुम्बिनी प्रदेशमा विनोद मैनाली, कर्णाली प्रदेशमा मोहन शाही र सुदूरपश्चिम प्रदेशमा हिक्मत थापालाई इन्चार्जको जिम्मेवारी दिइएको नेकोसका प्रचार विभाग प्रमुख स्वयम्भूराज डंगोलले जानकारी दिए । बैठकले महासंघको विधान संशोधनलगायत विभिन्न निर्णय पनि गरेको छ ।