वैशाख १९, काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश संसदीय दलको बैठकले शंकर पोखरेललाई नै पुनः मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । पोखरेलले राजीनामा दिएपछि आइतबार बसेको संसदीय दलको बैठकले पुनः उनकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय गरेको प्रदेशसभा सदस्य रेवतिरमण शर्माले बताए ।
उनका अनुसार नयाँ सरकारको लागि प्रदेश प्रमुखले आज नै आव्हान गर्ने र पोखरेलले दाबी गर्ने तयारी एमालेको छ । हाल प्रदेशसभाका प्रमुख एमाले निकटका धर्मनाथ यादव छन् ।
कारबाही प्रकरणपछि लुम्बिनीको प्रदेशसभा ८१ सदस्यीय भएको छ । माओवादी केन्द्रले २ र जनता समाजवादीले ४ सांसदलाई कारबाही गरेका थिए । ८१ प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद छन् । जसका आधारमा एमालेसँग स्पष्ट बहुमत देखिन्छ ।
एमालले संविधानको धारा १६८ (१) अनुसार एकल बहुमत देखाउँदै सरकार गठनको लागि निवेदन गर्ने तयारी गरेको छ ।
यसअघि कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर ल्याएको अविश्वासको प्रस्तावमा ‘फ्लोर क्रस’को चिन्ता देखिएको थियो । तर, नयाँ सरकार गठनसँगै त्यो विषय स्वतः समाप्त भएको छ । आइतबार बसेको एमाले प्रदेश सभाको बैठकमा माधव कुमार नेपाल निकटका सांसदहरु विष्णु पन्थी र रमा घर्तिमगर पनि सहभागी भएका थिए ।
सम्बन्धित समाचार
वि.सं.२०७८ वैशाख १९ आइतवार १२:५४ मा प्रकाशित