जस्तै कमाओस् न अभाव हुन्छ
त्यो चन्द्रमामा पनि दाग हुन्छ ।
के गर्भमा जातक च्यार्र रुन्छन् ?
को जन्मनासाथ कुबेर हुन्छन् ??
पालेर साँढे भरिँदैन ठेको
मोसो र अङ्गार हुँदैन सेतो ।
जस्तै दलोस् अत्तर तेल भाँडो
बूढो भए मानिस हुन्छ घाँडो ।।
चर्चा प्रतिष्ठा गुटले दिएमा
डुक्रिन्छ मान्छे मदिरा पिएमा ।
मिल्नेछ दर्जा जब चाकरीले
के ज्ञान देला भन पादरीले ??
सन्तानले नै घर भुल्न थाले
पुग्दैन है बाहिर मित्रताले ।
देखासिकी झन् नगरौँ अरूको
संस्कार हेरौँ कमिलाहरूको ।।
अखाद्य खाना फल खाइएमा
पालो छ शौचालय चाहिएमा ।
कस्तो अवस्था परिणाम हुन्छ ?
त्यो व्यक्ति कुर्दै बलिदान हुन्छ ।।
ती नाक आँखा मुख बाउँदैमा
होइन्न विद्वान् गुण गाउँदैमा ।
चाहिन्न वादी कवि बन्नलाई
उम्लेर पोखिन्छ अवश्य भाइ ।।
छन्द :उपजाति
वि.सं.२०७८ जेठ १५ शनिवार ०७:२७ मा प्रकाशित






























