सोचेको पुग्छ भने मैले सोचे अनुकुल भइदेओस् ।
केही दिनमै, तुइन भएको ठाउँमा पुल भइदेओस् ।
एकैदिन पेटभरि खान पाएका छैनन् बच्चाहरुले
लौन प्रभु ! उसिन्न राखेको ढुङ्गा तरुल भइदेओस् ।
ऋण काढेर खाडी पसेको म यतै मरेछु भनेपनि
जन्म दिने आमाबुवाको ऋण असुल भइदेओस् ।
आज यो दिल रेटेर आफ्नै संसारमा उडेको छ ऊ
अर्को जन्ममा चिलपनि कागको फुल भइदेओस् ।
माग्नेलाई दश रुपियाँ सोचेर हजारको नोट दिएछु
फेरि माग्नेहरु भेटिए मबाट यस्तै भुल भइदेओस् ।
वि.सं.२०७८ जेठ १५ शनिवार ०७:२८ मा प्रकाशित






























