१.
कहिले सम्म बिपी मदनको नाम बेचेर राजनीति गर्छौ ?
सिद्धान्त छोडी कति जनाको छाती टेकेर राजनीति गर्छौ ?
तिमीभित्र दिल छ कि छैन मुटु छ कि छैन ए ! नेता हो ?
कहिलेसम्म सोझा निमुखा जन्ताहरु पेलेर राजनीति गर्छौ ?
२.
मैले फूललाई हेरेर मुस्कुराउन सिकेको हुँ ।
दुःखमा रमाएर मात्र आजसम्म टिकेको हुँ ।
धेरै कुरा सिकियो तर जाँड् रक्सी सिकिएन छ
त्यही भएर म आजको बजारमा नबिकेको हुँ ।
३.
मान्छेसँग मान्छे भाग्नुपर्ने कस्तो समय आयो ।
परिवारभित्रै माया माग्नुपर्ने कस्तो समय आयो ।
हिजोसम्म आँखा चिम्लेर बिश्वास गरिन्थ्यो जसको
उसै माथी शंका लाग्नुपर्ने कस्तो समय आयो ।
४.
जता हेर्यो उतै लासको बिस्कुन लागेको छ ।
यही बेला कसैलाई कमाउने धुन लागेको छ ।
किन किन अचेल मलाई अनौठो भान हुन्छ
न दिनमा घाम लाग्छ न राती जून लागेको छ ।
५.
पीडा बर्सेर गहिरो नयन ताल बन्यो ।
खैरो आँखाको रङ्ग अब लाल भयो ।
मौकामा चौका हान्नेहरु रमाउँदै होलान
तर सोझाको जिन्दगी चाहिँ बेहाल भयो ।
वि.सं.२०७८ जेठ १५ शनिवार ०७:३६ मा प्रकाशित






























