back
CTIZAN AD

कविताः बर्खा

वि.सं.२०७८ जेठ २९ शनिवार

1.9K 

shares

जब
पातका दुक्की तबेलाहरूमाथि
झरीका मसिना औलाहरू
ताल बनेर बर्सन्छन्
बतासका सुसेलीहरूमा
सङ्गीत भरिन्छ
अनि फूलको बैंशमा
हल्लिँदै
जीवन नाँच्न थाल्दछ
मलाई बर्खा मनपर्छ ।

बारीको बाँझो खातामा
मकैका अक्षरहरू
जब वाक्य भएर उभिन्छन् र
अर्थहरूको घोगा लाग्छन्
मलाई बर्खा मनपर्छ ।

खहरेको सुकिसकेको पाखुराहरूमा
जब साहसको पानी भरिन्छ र
मेरो पाखामा
विद्रोहको जुलुस बग्न थाल्छ
मलाई बर्खा मन पर्छ ।

बैंशको छातामुनि
एक जोडी तन्नेरी मन
छेउमा उभिएका रुखहरूका
पातका बेहिसाब आँखाहरूलाई
ख्यालै नगरी जब
इत्रिरहेका हुन्छन् अनि
घामको रङ्गदानीमा
झरीको कुची चोबल्दै
बनाउँछन् इन्द्रधनुष एकार्कामा र
हराउँछन् रङगहरूमा
मलाई बर्खा मनपर्छ ।

 

बर्खा !
तिम्रो अनुहार
जति नै कुरूप किन नहोस्
म फूल सम्झिन्छु
तिम्रो सामिप्य
जति नै दिक्कलाग्दो किन नहोस्
म फूलबारी सम्झिन्छु
तिम्रो ताण्डव
जति नै बीभत्स किन नहोस्
म खेतबारी सम्झिन्छु
अनि
तिमीबिनाको मरूभूमिमा
बालुवाको रूखो पानीमाथि तैरिरहेको
मृगतृष्णामा जब
डुङ्गा र नरिवलका बोटहरू देख्छु
मलाई बर्खा मनपर्छ ।

आँखाभरि विनाशको मानचित्र टाँसेर
पानीको अशेष शरीर घिसार्दै
यौटा भयानक अजिङ्गर
कैयन् गाउँ र खेतहरु निल्दै जब
मेरो विपनामा आउँछ
अनि
बादलको कापकापबाट
चट्याङको क्यामेराहरूले
कैयौँ भोल्टको उज्यालो आँखा झिम्काउँदै
जब
मेरो मरन्च्यासे अनुहारको फोटो खिच्दछ
सायद डराएको हुन्छु असाध्यै म
मृत्युसँग जस्तै त्यो बेला
तर मलाई बर्खा मनपर्छ ।

बर्खा !
तिम्रो अनुहार
जति नै कुरूप किन नहोस्
म फूल सम्झिन्छु
तिम्रो सामिप्य
जति नै दिक्कलाग्दो किन नहोस्
म फूलबारी सम्झिन्छु
तिम्रो ताण्डव
जति नै बीभत्स किन नहोस्
म खेतबारी सम्झिन्छु
अनि
तिमीबिनाको मरूभूमिमा
बालुवाको रूखो पानीमाथि तैरिरहेको
मृगतृष्णामा जब
डुङ्गा र नरिवलका बोटहरू देख्छु
मलाई बर्खा मनपर्छ ।

बर्खा !
मलाई मन नपरेको भनेको
तिम्रो उपस्थिति
उसको आँखामा मात्रै हो
नत्र
मलाई बर्खा मनपर्छ ।

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:२० मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...