जब
पातका दुक्की तबेलाहरूमाथि
झरीका मसिना औलाहरू
ताल बनेर बर्सन्छन्
बतासका सुसेलीहरूमा
सङ्गीत भरिन्छ
अनि फूलको बैंशमा
हल्लिँदै
जीवन नाँच्न थाल्दछ
मलाई बर्खा मनपर्छ ।
बारीको बाँझो खातामा
मकैका अक्षरहरू
जब वाक्य भएर उभिन्छन् र
अर्थहरूको घोगा लाग्छन्
मलाई बर्खा मनपर्छ ।
खहरेको सुकिसकेको पाखुराहरूमा
जब साहसको पानी भरिन्छ र
मेरो पाखामा
विद्रोहको जुलुस बग्न थाल्छ
मलाई बर्खा मन पर्छ ।
बैंशको छातामुनि
एक जोडी तन्नेरी मन
छेउमा उभिएका रुखहरूका
पातका बेहिसाब आँखाहरूलाई
ख्यालै नगरी जब
इत्रिरहेका हुन्छन् अनि
घामको रङ्गदानीमा
झरीको कुची चोबल्दै
बनाउँछन् इन्द्रधनुष एकार्कामा र
हराउँछन् रङगहरूमा
मलाई बर्खा मनपर्छ ।
बर्खा !
तिम्रो अनुहार
जति नै कुरूप किन नहोस्
म फूल सम्झिन्छु
तिम्रो सामिप्य
जति नै दिक्कलाग्दो किन नहोस्
म फूलबारी सम्झिन्छु
तिम्रो ताण्डव
जति नै बीभत्स किन नहोस्
म खेतबारी सम्झिन्छु
अनि
तिमीबिनाको मरूभूमिमा
बालुवाको रूखो पानीमाथि तैरिरहेको
मृगतृष्णामा जब
डुङ्गा र नरिवलका बोटहरू देख्छु
मलाई बर्खा मनपर्छ ।
आँखाभरि विनाशको मानचित्र टाँसेर
पानीको अशेष शरीर घिसार्दै
यौटा भयानक अजिङ्गर
कैयन् गाउँ र खेतहरु निल्दै जब
मेरो विपनामा आउँछ
अनि
बादलको कापकापबाट
चट्याङको क्यामेराहरूले
कैयौँ भोल्टको उज्यालो आँखा झिम्काउँदै
जब
मेरो मरन्च्यासे अनुहारको फोटो खिच्दछ
सायद डराएको हुन्छु असाध्यै म
मृत्युसँग जस्तै त्यो बेला
तर मलाई बर्खा मनपर्छ ।
बर्खा !
तिम्रो अनुहार
जति नै कुरूप किन नहोस्
म फूल सम्झिन्छु
तिम्रो सामिप्य
जति नै दिक्कलाग्दो किन नहोस्
म फूलबारी सम्झिन्छु
तिम्रो ताण्डव
जति नै बीभत्स किन नहोस्
म खेतबारी सम्झिन्छु
अनि
तिमीबिनाको मरूभूमिमा
बालुवाको रूखो पानीमाथि तैरिरहेको
मृगतृष्णामा जब
डुङ्गा र नरिवलका बोटहरू देख्छु
मलाई बर्खा मनपर्छ ।
बर्खा !
मलाई मन नपरेको भनेको
तिम्रो उपस्थिति
उसको आँखामा मात्रै हो
नत्र
मलाई बर्खा मनपर्छ ।
वि.सं.२०७८ जेठ २९ शनिवार ०७:२० मा प्रकाशित






























