३ असार, काठमाडौँ । तीन दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर आजदेखि पुनः व्यवस्थापन हुन थालेको छ ।
निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर विसर्जनमा समस्या आएको थियो ।
महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि फोहोर राख्ने स्थान कम हुँदा समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन हुन थालेको बताइएको छ ।
विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा हरेक वर्ष वर्षात्को समयमा बाटो बिग्रिएर नियमित फोहर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । दुई वर्षका लागि भने पनि विगत १३ वर्षदेखि सिसडोलमा फोहोर राख्दै आएकाले अहिले उक्त स्थानमा सहजरूपमा फोहरको व्यवस्थापन गर्न सकिँदैन । विगतमा फोहर राखेर बाँकी रहेका केही थोरै–थोरै ठाउँमा फोहोर राखिँदै आएको छ ।
वर्षाको समयमा मात्रै होइन, अन्य समयमा पनि स्थानीयवासीले विभिन्न किसिमका माग राख्दै फोहोर व्यवस्थापन कार्यमा अवरोध गर्दै आएका छन् । उपत्यकाको फोहोरलाई दीर्घकालीनरूपमै व्यवस्थापन गर्ने गरी केन्द्र सरकारले धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा फोहर व्यवस्थापन केन्द्र निर्माणको काम गरिरहेको छ ।
निर्माणको कामका लागि तोकिएको समयभन्दा एक वर्ष ढिला हुँदासम्म सकिएको र्छैन् । गत जेठबाटै पहिलो चरणको निर्माण सकी फोहोर व्यवस्थापनको काम गर्ने भने पनि नदीजन्य निर्माण सामग्रीको समस्या भएको भन्दै अहिलेसम्म सुरसार छैन ।
अहिले उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसमा कामपाबाट मात्रै ५०० मेट्रिक टन फोहर उत्पादन हुने गर्दछ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर उक्त स्थानमा व्यवस्थापन हुने गर्दछ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
रासस
वि.सं.२०७८ असार ३ बिहीवार १५:२२ मा प्रकाशित






























