कोरोना अति फैलियो भुवनमा ढाकेर चारैतिर ।
जित्ने साहससाथ जम्न म सकूँ फ्याँकी नराम्रा पिर ।।
हो के जीव अजीव ? छन् बहसमा विज्ञानका पारखी ।
खोजी विश्व भरी हुँदै छ अहिले भेटिन्छ रे औषधि ।।०१।।
सारा विश्व भरी घुमी फनफनी लाखौँ लुट्यो मानव ।
फ्याँकूँ त्रास बसेर नित्य घरमा सङ्लिन्छ सिङ्गै भव ।।
आशा निम्न बने रहन्न सँगमा सामर्थ्य आफ्नै बुझी ।
आशाभाव विचार उच्च म धरूँ जित्ने छु पक्कै उठी ।।०२।।
मान्छे लिन्छ जिजीविषा भय बढी गाल्ने छ आफ्नै हियो ।
मैले जित्दछु भावना दृढ लिए गाडिन्छ पक्की मियो ।।
हाहाकार विनास भाव द्विविधा चित्कार छ्न् त्रास छन् ।
कालो भाग्छ बिहान खुल्छ रविको न्यानो सही आश छन् ।।०३।।
आफैँले दिलमा लिएर द्विविधा मिल्दैन सङ्लो पथ ।
बिग्रोस् मर्मत गर्नुपर्छ अनि पो गुड्नेछ सप्री रथ ।।
कोरोना अब त्रास छर्न भवमा सक्दैन धेरै दिन ।
आफ्नो चेत यही सुचिन्तन धरोस् फर्कन्छ रम्ने दिन ।।०४।।
वर्षा शीत तुषार पात हिमले खाँदा निराशा थियो ।
आयो योग्य वसन्त सौम्य भवमा बालेर आशा दियो ।।
गर्छन् खोज अवश्य औषध नयाँ नासिन्छ यो कोभिड ।
आफू स्वस्थ हुने सुयोग्य घर हो भित्रै बसे भो हित ।।०५।।
खुल्ला स्थान अपार खुल्छ महिमा शिक्षा नयाँ पाइयो ।
डुल्ने कर्म विनाश गर्छ यसले सद्भावना गाइयो ।।
कोरोनासित युद्ध जित्न घरमा हाँसूँ र गाऊँ बसी ।
साँच्चै कोभिड हार्छ देख्छ मन यो विज्ञानका छन् दसी ।।०६।।
चुँड्दै लान्छ अनेक मानव लुटी खप्नै छ मैले सब ।
छन् विज्ञान कला सुवासित भला सङ्लिन्छ सिङ्गै भव ।।
कोरोनासित लड्न दिव्य पथमा आभा सुनौलो छरूँ ।
आफ्नै चेत अयोग्य बोक्दछ भने फ्याँकी उज्यालो धरूँ ।।०७।।
औँसीका पछि पक्ष फिर्दछ सुदी जाने बुझेको सब ।
हूस्सूझैँ मन यो विकार नधरोस् खुल्ने छ राम्रो पथ ।।
चिन्ता दूर गरूँ सुभाव दिलमा राख्दा खुसी खुल्दछ ।
कोरोना भवबाट भाग्दछ बुझूँ उल्लासले चुम्दछ ।।०८।।
छन्द :शादूर्लविक्रीडित
वि.सं.२०७८ असार १९ शनिवार ०६:३१ मा प्रकाशित






























