कति आस ढले कति सास ढले
पर जीवन भो अनि लास ढले ।
रचियो अथवा कुन खेल यहाँ
किन कोभिड गर्दछ झेल यहाँ ।।१।
कति बास उठे कति प्राण छुटे
कति मर्म बुझी दिनरात जुटे ।
न त दीप न थप्दछ तेल यहाँ
किन कोभिड गर्दछ झेल यहाँ ।।२।
अतिसार भयो अनि हार भयो
जब रोग नयाँ अवतार भयो ।
न त सुक्दछ आँसु न भेल यहाँ
किन कोभिड गर्दछ झेल यहाँ ।।३।
दिन ढल्न पुगे रवि अस्त नभै
तन गल्न पुगे कवि व्यस्त छँदै ।
घर मानिस ठान्दछ जेल यहाँ
किन कोभिड गर्दछ झेल यहाँ ।।४।
अब दूर रहून् हर व्याधिहरू
चिर काल छ बाँच्नु त्यसै नमरूँ ।
चलखेल बढ्यो अति मेल यहाँ
किन कोभिड गर्दछ झेल यहाँ ।।५।
छन्द :तोटक
वि.सं.२०७८ असार १९ शनिवार ०७:०७ मा प्रकाशित






























