Logo
४ माघ २०७८, मंगलवार
     Tue Jan 18 2022
E-paper
  English Edition
   Unicode
Logo

फर्केर हेर्दा सती प्रथा



नेपाली बृहत् शब्दकोशमा ‘सती’को अर्थ ‘आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी हो, अर्थात् पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री ।’ पतिको मृत्यृपछि उसको पार्थिव शरीरसँगै चितामा बसेर देहत्याग गर्ने चलनलाई सती–प्रथा भनिन्थ्यो ।
सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो । यो प्रथा नेपालमा वि.सं. १९७७ साल असार २५ गतेदेखि ऐनद्वारा निषेध गरी बन्द भएको छ ।
नेपालमा हजारौं वर्षसम्म चलेको सती–प्रथाको अन्त्य भएको एक शताब्दी पूरा भइसक्यो । सती–प्रथा नेपालमा कहिलेदेखि चल्दै आएको हो, यकिन छैन । त्यो क्रुर प्रथा प्राचीनकालदेखि नै प्रचलित थियो । वैदिककालदेखि चल्दै आएको सती–प्रथा हिन्दु समाजमा नैतिक कानुन जस्तै हुँदै आयो ।
हिन्दु समाजमा विधवा नारीलाई एकातिर हेलाको भावले हेरिन्थ्यो भने अर्कोतिर लोग्नेको पार्थिव शरीरसँगै देहत्याग गरेमा परलोकमा पनि पतिसँगै रहन पाइन्छ भने अन्धविश्वासी धारणाले जरा गाडेको थियो । पतिको पार्थिव शरीरसँग जान नसकेमा पतिको अपमान भएको विश्वासको घेराभित्र बाँधिएका विधवाहरु सती जान आनाकानी गर्दैनथे । त्यसैले समाजमा सती–प्रथाले स्थान पाइरहन सकेको थियो ।
अझै मल्लकालमा बालविवाह र बहूविवाहको् बाहुल्यता थियो । जसले गर्दा सती–प्रथाले अझ फराकिलो स्थान ओगट्दै आएको पाइन्छ । उपत्यकाका मल्ल राजाहरुका कैयांै रानीहरु सती गएको उल्लेख गरेको पाइन्छ । राजा रुद्रमल्लका ४ रानी, शिवसिंह मल्लकी एउटी रानी सती गएकी थिइन् । योगनरेन्द्र मल्लका ३३, पाथिर्वेन्द्र मल्लका २४ र प्रताप मल्लका ९ वटी रानीहरु, नृपेन्द्र मल्लका ९ रानीहरु सती गएका इतिहास हामीले पढेका छौं ।
राणा शासनलाई हामीले नकारात्मक दृष्टिले हेर्दछौं, तर राणाकालमा नेपालमा केही यस्ता उल्लेख्य कामहरु पनि भएका छन् जसलाई भविष्यले पनि सम्झने छ । सती–प्रथा जस्तो भयानक नरवलि रोक्नका लागि कानुनी हिसाबले अगाडि बढ्ने राणाहरु नै हुन् । वि.स १९१० मा जङ्गबहादुर राणाले सती–प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनाए ।
जसमा १६ वर्षभन्दा कम उमेरका सती जान नपाउने, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले सती जान नपाउने, दुई जीउ भएकाले सती जान नपाउने, छोराको मृत्यृमा सती जान नपाउने, दासीहरु सती जान नपाउने आदि । त्यसबाट नेपाली विधवा महिलाहरुले केही राहत त पाए तर यी बाहेक अरु विधवा सती जाने प्रचलन चाहिँ जस्ताको तस्तै बस्यो । त्यसकारण महिलाहरु चितामा जल्नुपर्ने बाध्यता रहिरह्यो र सती–प्रथाको अन्त्य हुन सकेन ।
सती–प्रथाको अन्त्य गर्ने श्रेय प्रधानमन्त्री चन्द्रशमशेरलाई छ । नेपाल प्रज्ञा प्रतिष्ठान्को बृहत् शब्दकोश अनुसार १९७७ सालको असार २५ मा सामाजिक कलङ्कको रुपमा हजारौं वर्षदेखि जरा गाडेर रहेको सती–प्रथा हटाउने नियम कानून बनाएर सती–प्रथाको अन्त्य भएको घोषणा चन्द्रशमशेरले गरे । प्रारम्भमा केही अन्धविश्वासीहरुले चन्द्रशमशेरको यस कार्यको विरोध गरे पनि उनले सती–प्रथा सदाका निम्ति अन्त्य गरेरै छाडे ।
विश्वमा महिला मुक्तिको अवसरमा र उनीहरुको सम्झनामा विभिन्न दिवसहरु मनाउने चलन चल्दै आएको छ । अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मार्च ८ मा मनाइन्छ । नेपालमा पनि महिलाहरुले आफ्नो अधिकारको सुरक्षा र मुक्तिको कुरालाई लिएर यो दिवस मनाउँदै आएको छ । तर नेपालमा नै हजारौं वर्ष पहिलेदेखि प्रचलनमा आएको सती–प्रथाको अन्त्य भएको र महिलाले मुक्ति पाएको दिन भने हामीले बिर्सिएका छौं । यसको सम्झनामा कुनै कार्यक्रम गरेका छैनौ ।
सती–प्रथाको कारण कैयौं महिलाहरुको वलिदान भयो । ती निर्दोष महिलाहरु जबरजस्ती जिउँदै आगोमा जल्न बाध्य भए । जुन प्रथाको अन्त्य भएको दिनलाई नेपाली महिला मुक्तिको रुपमा मनाउनु पर्दछ । के यो दिन नेपाली नारीजगत्का लागि महत्वपूर्ण दिन बन्न सक्दैन र ? उक्त मुक्तिको अवसरमा हामीले कुनै सम्झना गरेका छैनौ ।
उक्त कुरीतिबाट पीडित भएका सम्पूर्ण महिलाहरुको प्रतिनिधित्वको रुपमा असार २५ मुक्तिको दिन बन्न सक्दैन ? ऊबेलाका काल्पनिक महिलाको शालिक बनाएर यस दिनलाई हामीले सम्मान र स्मरण गर्नुपर्दछ । समाजमा घोर आततायी रुपमा जरा गाडेर बसेको सती–प्रथाको अन्त भएको आज एक शताब्दी पूरा भइसकेको छ ।
त्यसभन्दापूर्व अन्जानमा या बाध्यतावश सती गएका तमाम नारीहरुको आत्माको चीरशान्तिको कामनासहित ! सती–प्रथाको उन्मूलन गर्ने प्रधानमन्त्री चन्द्रशम्शेरको साहसी कार्यलाई धन्यवाद ।
‘१९७७ साल असार २५ गतेदेखि सतिप्रथा ऐनद्वारा निषेध गरी बन्द भएको हो ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक