१.
बाँच्नलाई कहिले अन्न रोप्छ कहिले अबिजालो सार्छ
जातीय दुश्मनलाई पनि आफ्नै सम्झेर अंगालो मार्छ
प्राकृतिक बिपत्तिमा समेत विचलित नभएको भाग्यलाई
निष्ठुरी बिधाताले खोस्रीएर निधार झन्झन् भिरालो पार्छ ।।
२.
बाँचेका छौं आफ्नै धर्म संस्कृतिको पहिचान बोकेर
अझ शिरमाथी राष्ट्रिय अखण्डताको निशान बोकेर
पटकपटक वितण्डा मच्चाई रहन्छ प्रकृतिले पनि
रोग अनि बाढी पहिरो सँगसँगै आउँछ चिहान बोकेर ।।
३.
बाटो बिर्सिएर खोलाले अर्कै बाटो अपनाएर गयो
गाउँ ,वस्ती, पाखा, पखेरा, पुल, पुलेसा बगाएर गयो
घरेलुु झैँ झगडामा रूमलिन्छन् अचेल धुन्धुकारीहरू
आयातित मदारी आयो बाँदरलाई झैँ नचाएर गयो ।।
४.
बालेर धुस्नो फलामको खानीलाई गलाउछु भन्छन्
हनुमानहरू कुराले सुनको लंका जलाउछु भन्छन्
देशको भविष्य अन्यौलमा पारेर कर्तव्यच्युतहरुले
राष्ट्रियता आर्यघाट पुर्याएर सर्कार चलाउछु भन्छन् ।
५.
घुसपैठ गराएर जितेको खेल हराएर जान्छन्
खेलाडीको कान फुक्छन् झेल गराएर जान्छन्
आफ्ना भन्ने पन्छाएर…नजिक पराइ तानेपछि
गाउँ,शहर जताततै आँसुको भेल बगाएर जान्छन् ।।
वि.सं.२०७८ असार २६ शनिवार ०६:३१ मा प्रकाशित






























