१
चिर्विर गर्छे सानी छ चरी
घुमफिर गर्ने रानी छ परी ।
दारिम अब हो मेरो भन्छे
उसका साथी घुमेर गन्छे ।।
२
बिहानी भन्छे लौ उठ छिटो
तयार पार ढिँडो र पीठो ।
बसेर जब ऊ हल्ला गर्छे
गणकासाथ सल्लाह गर्छे ।।
३
मजको निन्द्रा खल्बल पार्ने
पाकेका फल ठुङेर झार्ने ।
झनन आयो मलाई रन्को
ऊ पर गई मारेर फन्को ।।
४
घुमेर जाने दिनदिन साथी
म रूख मुनी ऊ बस्छे माथि ।
न पीडा केही न शोक कतै
खुला छ सीमा उड्दछे जतै ।
५
आजाद छ चरी सरर डुल्ने
ऊ पात पात गनेर फुल्ने ।
सानो छ कुटी रमेर बस्छे
न बन्धन नत जालमा फस्छे ।
६
न गर्छे घात मीतकासाथ
संसार डुल्ने उसको जात ।
खै ?कर तिर्छे सरकार छैन
यो करको जब दरकार छैन ।
७
खै? जातपात साझा छ भात
खुशी नै खुसी ऊ बोट पात ।
साझा हो वन साझा भो मन
साँचेको छैन यसले धन ।
८
मानिस देखे डरले भाग्छे
चर्चरसाथ रीसले जाग्छे
जङ्गल मास्ने जन हो भन्छे
जङ्गल मेरो धन हो भन्छे ।
९
गुलेली हान्ने मानिस जतै
भेटिन्न चारो सहजै कतै ।
सानो छ नानी गुड छ सानो
घर्ती छ घर आकाश छानो ।
छन्द: सम मात्रिका पादाकुलक छन्द
यसलाई छन्दलाई ‘स्कन्धक’ वा पज्झटिका पनि भनिन्छ ।
वि.सं.२०७८ असार २६ शनिवार ०६:३४ मा प्रकाशित






























