दरिद्र भोक रोगले अकालमा त मर्दछन्
उदास जिन्दगीसँगै दुखेर आँसु झर्दछन् ।
किसान स्वाभिमानले न गर्व गर्न पाउँछ
तथापि कर्ममा सधैँ मुसुक्क मुस्कुराउँछ ।।
ललाउने फकाउने भए यहीँ फुटाउने
किसानका प्रताडना कहाँ गई लुकाउने ?
अभाव वेदनासितै निराश सोच आउँछ
फुलोस् भनेर जिन्दगी असार मुस्कुराउँछ ।।
सदैव कल्पवृक्षझैँ किसान हुन् हराभरा
विभेदका प्रभावले नहुन् कुनै कठैबरा ।
कठोर कष्ट मासिए पुनः उमङ्ग आउँछ
किसान धर्म कर्मले असार मुस्कुराउँछ ।।
जहाँ सुकाउरो थियो झरी हिलो गराउँछ
हराभरा भए जगत् असार मुक्ति पाउँछ ।
जुटेर खेतमा हली हलो चलाउँछन् अब
किसान हर्षले अहो ! मुरी फलाउँछन् तब ।।
हली लुँडी उठाउँदै असार गीत गाउँछन्
रमेर बाउसेहरू पवित्र प्रीत लाउँछन् ।
उठेर मेघ व्योममा चट्याङ गड्गडाउँछ
पहाडमा मधेसमा असार मुस्कुराउँछ ।।
छन्द: पञ्चचामर
वि.सं.२०७८ असार २६ शनिवार ०६:३६ मा प्रकाशित






























