२७ असार, गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ ।
बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा वयापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टर मार्फत चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । उनका अनुसार अनुदानका चामल सिर्दिबास पुर्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पुर्याइएको उनले बताए । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासन्दिलाई सहुलियतमा चामल उपलब्ध गराइँदै आइएको छ ।
“बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाएर दुई दिन गरेर चामल पठाइएको छ ”, सूचना अधिकारी सुनारले भने, “मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पुर्याउन सम्भव भएको हो ।”
पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्याएर सुरक्षित भण्डारण गरिएको उनले बताए। कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठको अन्तिम सातादेखि नै अबिरल बर्षा शुरु भएपछि चामल लैजान सकिइएको थिएन् ।
हेलिकप्टर मार्फत डिपोमा पुर्याइएको चामल अरुवा मन्सुलीप्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गर्ने सिर्दीबास डिपोले जनाएको छ ।
वि.सं.२०७८ असार २७ आइतवार १२:०६ मा प्रकाशित





























