नेपालको समकालीन राजनीतिमा पुष्पलालको दृष्टिकोण, निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको माक्र्सवाद, लेनिनवाद र माओ बिचारधारा आजका चालु नेताहरुको जस्तो सस्तो नेतागिरी छाट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पाँण्डित्याई प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरु नेपाली समाजको अग्रगामी आमूल सामाजिक परिवर्तनका निमित्त थियो भन्ने कुरा उहाँको अथक संघर्षले देखाउँदछ । सिद्धान्त सिद्धान्तको निमित्त होइन, यसलाई जनता र राष्ट्रको जीवनमा परिवर्तन ल्याउने शक्तिशाली हतियारकोरुपमा रुपमा पुष्पलालले ग्रहण गर्नुभएको थियो र तदनुकूल आफ्नो राजनीतिक यात्रालाई अबिश्रान्त अघि बढाउनु भएको थियो ।
वास्तवमा पुष्पलालले संयुक्त जन आन्दोलनको जुन नीति अख्तियार गर्नु भएको त्यो आफुले अंगीकार गरेको माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई ब्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको बाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो । त्यो नीतिको आधार तत्कालीन बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड नै थियो ।
त्यसैले उहाँले अघि सारेको संयुक्त जन आन्दोलनको नीति केवल एउटा कोरा नीति मात्र थिएन, त्यो परिवर्तनको प्रभावकारी औजार थियो । जसले समाजमा राजनीतिक, आर्थिक, समाजिक र साँस्कृतिक परिवर्तन ल्याउन सबै परिवर्तनकामी शक्तिहरुलाई एक ठाउँमा खडा गर्ने रसायनको काम गर्दथ्यो । बस्तुतः उहाँले अघि सारेको यो नीति माक्र्सवाद, लेनिनवाद र माओ बिचारधारालाई ब्यवहारमा उतार्ने कार्यनीतिकै महत्वपूर्ण अंश र आधार थियो । जुन बाटो नहिडीकन समाजलाई अग्र गति दिनै सकिदैनथ्यो भन्ने कुरा नेपालमा अहिलेसम्म सचेतरुपमा चलेका संयुक्त जन आन्दोलनहरुले प्रष्टसँग औंल्याएका छन् । यस प्रकार पुष्पलालको यो नीति एकैचोटी बर्गीय मोर्चा र राजनीतिक मोर्चालाई एकै दिशातिर अभिमुख गराउने र हिडाउने माध्यम पनि थियो । जुन कुराको पुष्टी नेपालको २०१७ अघि ०८ सालतिर जातिय जनतान्त्रिक मोर्चा(त्यसबेला ‘राष्ट्रिय’ शब्दलाई ‘जातिय’ भनेर अभिब्यक्त गन्थ्यिो) र ०१७ पछिका महत्वपूर्ण र ऐतिहासिक आन्दोलनहरु –२०३६ सालको संयुक्त बिद्यार्थी आन्दोलन, २०४६ सालमो संयुक्त जन आन्दोलन र २०६२/६३ सालको ब्यापक संयुक्त जन आन्दोलनहरुले एकपछि अर्को पुनर्पुष्टी गरिसकेका छन् र गरिरहेका छन् ।
वास्तवमा यस बस्तुगत यथार्थले कमरेड पुष्पलालको ‘नेता होइन, नीति प्रधान’ हुन्छ भन्ने कुरालाई पनि सत्य साबित गरेको छ । उहाँ ब्यक्तिवादको बिरुद्ध हुनुहुन्थ्यो र हमेशा पुष्पलाल भन्ने गर्नुहुन्थ्यो कि नेताहरु त मञ्चमा आउछन्, जान्छन् तर सही नीति हमेशा कायम रहन्छ । उहाँले यस्तो निचोड निकालेर नीतिको कुरा गर्दा बर्गीय नीतिको कुरा गरेको हुन्थ्यो कुनै निरपेक्ष नीतिको कुरा होइन । उदाहरण दिदै उहा भन्ने गर्नुहुन्थ्यो – बेद ब्यास छैनन् तर बेद छ । बुद्ध छैनन् तर बुद्धको बिचार छ, रुसो छैनन् तर उनको ‘सामाजिक सम्झौताको सिद्धान्त’ छ । त्यसरी नै माक्र्सवादका प्रणेता– माक्र्स र एंगेल्स छैनन् तर अजेय माक्र्सवाद आज हामीसँग छ । नेताहरुको योगदान र भूमिकाको अबश्य महत्व छ र हुन्छ । उनीहरु हमेशा कायम रहन सक्तैनन् तर उनीहरुको बिचार कायम रहन्छ ।
पुष्पलालको एक मात्र ध्याउन्न देश र जनताको हितमा सही नीति प्रतिपादन गर्नु र त्यसलाई ब्यवहारमा खरो उतार्नु रहेको थियो । यसैका लागि नेपाली जन आन्दोलनका सबल र दुर्बल पक्ष केलाउन र सहीलाई अझ सम्बृद्ध तुल्याउन तथा गलतलाई घटाउन र हटाउन उहाले ‘नेपाली जन आन्दोलन : एक समीक्षा’ लेख्नुभयो ।
उहाँ हमेशा पार्टी क्लासहरुमा भन्ने गर्नु हुन्थ्यो कि सिद्धान्तबिनाको संगठन र संघर्ष अन्धो हुन्छ र सगठनबिनाको सिद्धान्त र संघर्ष पनि लङ्गडो हुन्छ । त्यसैगरी सिद्धान्त र संगठन बिना त संघर्षले सही दिशा र गति नै पाउनै सक्तैन । त्यसैले यी तीन ‘स’ को आ–आफ्नै ठूलो महत्व छ र ती एक अर्काका परिपुरक हुन् । एक बिना अर्कोको अस्तित्वको कुनै अर्थ हुदैन भन्ने उहाँको एकदमै प्रष्ट धारणा थियो ।
त्यस क्रममा उहाँले नेपालको सन्दर्भमा राष्ट्रियता र जनवादको नबीन परिभाषा दिदै ‘लाखौलाख झोपडीहरुको एकता नेपालको सन्दर्भमा राष्ट्रियता हो भने ती झोपडीहरुको हक हित जनवाद’ हो भन्ने कुरा प्रष्टसँग औंल्याउनु भयो । यो नेपाललाई सचेत र उन्नत किसिमले राजनीतिक एकीकरण गर्ने र सुदृढ बनाउने कुरा हो र थियो भन्ने प्रष्टसँग बुझ्न सकिन्छ । यो कुराले नेपाली जनता नै वास्तविक परिवर्तनका सम्वाहक हुन् र उनीहरुको सक्रिय भूमिकाबिना आमूल सामाजिक परिवर्तनको कुनै अर्थ छैन र हुदैन भन्ने अर्थपूर्ण शिक्षा पनि दिन्छ । त्यसैले, पुष्पलालले जन चेतना निर्माणलाई ठूलो महत्व दिनु भयो र जनताका दैनिक जीवनका सवाललाई लिएर तलैदेखि उठेको आन्दोलनमा जोड दिनु भयो । त्यसले कुरालेभन्दा कामले जनतालाई बढी चाडो र सही किसिमले सचेत र सक्रिय तुल्याउँदछ भन्ने कुरामा उहाँ बढी बिश्वस्त हुनुुहुन्थ्यो ।
पुष्पलाल केवल एउटा सिद्धान्तबादी निष्ठावान ब्यक्तित्व मात्र हुनुहुन्थेन । उहाँ त सिद्धान्तलाई ब्यबहारमा खरो उतार्ने र त्यस आधारमा संगठनलाई क्रियाशील र सबल बनाउने कार्यमा निरन्तर दत्तचित्त भएर लाग्ने ब्यक्तित्व हुुनुुहुन्थ्यो । त्यसैले उहाँले ‘तीन ‘स’ को सिद्धान्त’ अर्थात् ‘संघर्ष, संगठन र सिद्धान्त’लाई एक अर्काका परिपुरकका रुपमा निरन्तर क्रियाशील तुल्यारहनु भयो । उहाँ हमेशा पार्टी क्लासहरुमा भन्ने गर्नु हुन्थ्यो कि सिद्धान्तबिनाको संगठन र संघर्ष अन्धो हुन्छ र सगठनबिनाको सिद्धान्त र संघर्ष पनि लङ्गडो हुन्छ । त्यसैगरी सिद्धान्त र संगठन बिना त संघर्षले सही दिशा र गति नै पाउनै सक्तैन । त्यसैले यी तीन ‘स’ को आ–आफ्नै ठूलो महत्व छ र ती एक अर्काका परिपुरक हुन् । एक बिना अर्कोको अस्तित्वको कुनै अर्थ हुदैन भन्ने उहाँको एकदमै प्रष्ट धारणा थियो ।
सिद्धान्तको कुरा गरिरहँदा पुष्पलालले मार्क्सबाद–लेनिनवाद र माओ बिचारधारालाई एउटा जडसुत्रबादी रटना जपनाको रुपमा नलिएर त्यो सैद्धान्तिक बिचारधारालाई एउटा गतिशील र मार्गदर्शन गर्ने प्रकाश स्तम्भकोरुपमा बुझाउनु भयो र ब्यवहारलाई अर्थात परिवर्तनलाई बाटो देखाउने औजारकोरुपमा बुझ्नु बुझाउनु भयो । बिचारधारात्मक संघर्षको कुरा गर्दा उहाँ हरहमेशा ‘बादे बादे, बिबादे च जायते तत्व बोध’ भन्ने सँस्कृत वाक्यलाई दोहो¥याउने गर्नु हुन्थ्यो र कुनै पनि बिषयमा तर्क–प्रतितर्कले नै सही निष्कर्शमा पुग्न मद्दत पुग्ने द्वन्दात्मक नियम प्रयुक्त गर्नुहुन्थ्यो । प्रकृति र समाजका अधिशासित नियम (Governing law of nature and society को बारम्बार उहाँले उल्लेख गर्ने गर्नुहुन्थ्यो ।
पुष्पलालको एउटा अर्को सबैभन्दा महत्वपूर्ण पक्ष उहाको निरन्तर अध्ययनशीलता हो । समकालीन नेपाली राजनीतिमा तुलनात्मकरुपमा उहाँको जत्तिको नेपाली समाजको गहिरो अध्ययन अरु कमैले मात्र गरेका थिए होलान् । उहाँको अध्ययनको मूल बिषय नै नेपाली जनताको गाँस, बास, कपासको समस्या थियो । जनताले आफ्नो आजीवीवको समस्या कसरी हल गरिरहेका छन् र उनीहरु बिकासको कुन चरणबाट गुज्रिरहेका छन् भन्ने कुरामै उहाँको सम्पूर्ण राजनीतिक अध्ययन केन्द्रित थियो र हुन्थ्यो ।
मार्क्सबाद लेनिनवाद र माओ बिचारधारालाई नेपाली धरातलीय यथार्थका आधारमा प्रयुक्त गर्न के कसरी सकिन्छ यही नै उहाँको अध्ययनको मूल बिषय हुन्थ्यो र बिद्यमान यथास्थितिलाई फेरेर समाजलाई अग्रगति प्रदान गर्ने दिशाबोध गर्नु उहाँको अध्ययनको प्रयोजन थियो । त्यसैले अलिकति समय पायो कि उहाँ कहिले कलकत्ताको ‘नेशनल लाइब्रेरी’ मा गम्भीर अध्ययनमा लागेको पाइनु हुन्थ्यो कि दिल्लीको ‘सप्रु हाउस’ या बनासरकै स्थानीय पुस्तकालय जहाँ बिश्व र नेपालका लागि पनि पठनीय पुस्तक र पाठ्य सामाग्री पाइने गर्दथे समय पायो क उहाँ अध्ययनरत रहने गर्नुहुन्थ्यो। उहाले नेपालमा पनि कार्यकर्ताहरुलाई मदन स्मारक पुस्तकालय पाटनढोका र राष्ट्रिय पुस्तकालय तथा बिश्वबिद्यालयका पुस्तकालयहरुमा गएर अध्ययन गर्न सुझाव दिनुहुन्थ्यो । जसले नेपालको इतिहास, सस्कृति र भूगोल पढेको र बुझेको हुदैन, नेपाली जनताको आजिबीका कसरी चलेको छ त्यसको गहिरो अध्ययन गरेको हुदैन उसले नेपालको आमूल अर्थ–राजनीतिक परिवर्तनमा कसरी योगदान दिन सक्तछ र ? भन्ने गम्भीर प्रश्न उठाउदै सबै कार्यकर्ताहरुलाई अध्ययन गर्न प्रेरित गर्नु हुन्थ्यो । खासगरी उहाले नेपालमा किसान बर्गको समस्या हल नगरी नेपालको राष्ट्रिय मूख्य मुद्दा नै हल हुदैन भन्ने कुरामा जोड दिएर जगदीश चन्द्र रेग्मीले अग्रेजीमा लेखेका किताबहरु ‘ल्याण्ड टेन्यूर एण्ठ ट्याक्सेशन सिस्टम इन नेपाल’ अर्थात ‘नेपालमा भूमि र कर ब्यवस्था’ लगायतका महत्वपूर्ण सन्दर्भ सामाग्रीहरू अध्ययन गर्न र बिचार बनाउन बिशेष जोड दिनुहुन्थ्यो ।
समग्रमा पुष्पलालको क्रान्तिकारी जीवन सबैका लागि एउटा प्रेरणास्पद र बिश्वासिलो जीवन त छँदैथियो नै त्यो भन्दा बढी आमूल सामाजिक परिवर्तनको दिशामा अत्यन्तै हुटहुटिएर केन्द्रित भएको र त्यस प्रयोजनका लागि आजीवन सक्रिय रहेको अनुकरणीय प्रेरणापुञ्ज बनेको जीवन थियो । त्यसैले नै उहाँका अनुयायीले भन्दा पनि आज उहाँको छिचरो र अनर्गल किसिमले बिरोध गर्ने तथाकथित कम्युनिष्ट नामधारीहरुले नै उनको मूर्ति र फोटो पूजाआज गरेर आफुलाई पुष्पलालको असली उत्तराधिकारी भएको भ्रम छर्ने गरेका छन् । त्यो हिजो पनि स्वार्थबश गरिएको बिरोध र प्रताडना थियो भनेको आजको पूजा पनि स्वार्थबश गरिएको यथार्थ खुलस्त भइसकेको र भइरहेको छ । कमरेड पुष्पलालको अबिश्रान्त क्रान्तिकारी जीवनको सारतत्वलाई समाप्त पारेर आवरणको पूजाआजा गर्ने अवसरवादीहरुको बिगबिगीलाई नचिरेसम्म नेपालको कम्युनिष्ट आन्दोलनले भ्रमबाट मुक्ति पाउन सक्ने छैन ।
अनि नेपाली शोषित पीडित जनताले पनि बर्गीय शोषण र सामाजिक उत्पीडनबाट कदापि मुक्ति पाउने छैन । यो आजको कटु यथार्थ कुरा हो । देशका शोषित पीडित जनता राष्ट्रको मुक्तिको बाटो देखाउने यस्ता महापुरुष कमरेड पुष्पलालको जन्म १५ असार १९८१ सालमा रामेछाप जिल्लाको भँगरी गाउँमा भएको थियो
वि.सं.२०७८ साउन ८ शुक्रवार १०:०७ मा प्रकाशित






























