साउन ८, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । उनले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेरै राजीनामा फिर्ता लिएका हुन् ।
रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन साउन ३ मा प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए । उनले संसद सचिवालयमा राजीनामा बुझाएका थिए ।
किन दिए, किन फिर्ता लिए ?
रावलले साउन ३ मा देउवाको पक्षमा मत नदिने योजनासहित राजीनामा दिएका थिए । उनले तत्कालिन समय अनैतिक राजनीतिको खेलबाट अलग हुन राजीनामा दिएको बताएका थिए ।
‘प्रतिनिधिसभा विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको चरम अैनितिक र षडयन्त्रकारी चिरत्र देख्दा मनमा घृणा उत्पन्न हुन्छ’, पत्रकारहरुसँग उनले भनेका थिए, ‘यस्तो स्थीतिमा अनैतिक राजनीति र देशमा जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेष्ठकर भएकोले उक्त प्रकारको दुषित आफुँलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा राजीनामा दिएको हुँ ।’
तर, रावलले नेता तथा कार्यकर्ता मतदाताको व्यापक दबाब आएपछि फिर्ता लिएको बताएका छन् । उनले राजीनामा फिर्ताको विषयमा सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘स्वस्थ,मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ, सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु।’
ओली र माधवले फिर्ता लिन भनेका थिए राजीनामा
रावलले राजीनामा फिर्ता बारेको कारणमा ‘नेताहरुको व्यापक दबाब’ रहेको उल्लेख गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ताको आग्रह गरेका थिए । तर, त्यति धेरै दबाब भनेको दिएका थिएनन् ।
एमाले विवाद कार्यदलमा माधव पक्षका संयोजकसमेत रहेका रावलप्रति पछिल्लो समय माधव पक्ष नै असन्तुष्ट छ । उनको नेतृत्वको रहेको कार्यदलले गरेको १० बुँदे सम्झौतालाई स्वंय माधव नेपालले ठाडै अस्वीकार गरेका थिए ।
१० बुँदे सम्झौतालाई अस्वीकार गरेसँगै उनी माधव पक्षका बैठकहरुमा समेत अनुपस्थित हुन थालेका छन् । बुधबार बसेको माधव पक्षको बैठकमा उनी अनुपस्थित भएसँगै स्वंय माधव नेपाल उनलाई भेट्न पुगेका थिए । उनको भूमिकाप्रति माधव समूहका नेताहरु निकै सशंकित देखिन्छन् ।
सम्बन्धित समाचार
वि.सं.२०७८ साउन ८ शुक्रवार १५:०७ मा प्रकाशित






























