साउन १०,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले कार्यकारिणी सदस्यहरुलाई ललितपुरको एक रिसोर्टमा लगेको छ । निर्वाचन आयोगले सोमबार कार्यकारिणी सदस्यहरुको ‘हेड काउण्ट’बाट निर्णय दिने भनेसँगै आफुँ पक्षका कार्यकारिणी सदस्यहरुलाई सुरक्षित गर्न यादवले रिसोर्टमा लगेका हुन् ।
रिसोर्टमा समसामयिक राजनीतिबारे नेताहरुका बीच छलफल चलिरहेको एक कार्यकारिणी सदस्यले जानकारी दिए । आयोगमा उपस्थित हुनेबारेमा तयारीका लागि नेताहरुबीच छलफल चलेको उनले बताए ।
उनका अनुसार रिसोर्टमा जारी बैठकमा ५१ कार्यकारिणी सदस्य मध्ये ३२ सदस्य उपस्थित छन् । महन्थ ठाकुर पक्षमा देखिएका केहि नेताहरुसँग पनि छलफल चलिरहेकोले केहि नेताहरु थपिन सक्ने जानकारी उनले दिए ।
पछिल्लो अवस्थासम्म यादव पक्षमा जसपाका ३२ सांसदमध्ये २१ र ५१ कार्यकारिणी सदस्यमध्ये ३२ जना देखिएका छन् । जुन बहुमतभन्दा माथि हो ।
सम्बन्धित समाचार
‘हेड काउन्ट’बाट निर्णय गर्ने भएपछि उपेन्द्र यादव पक्ष उत्साहित, जसपाका कुन नेता कता ? (सूचिसहित)
वि.सं.२०७८ साउन १० आइतवार १६:४९ मा प्रकाशित






























