back
CTIZAN AD

सिन्कौली खेतीतर्फ आकर्षित बन्दै खोटाङका किसान

वि.सं.२०७८ साउन १२ मंगलवार

1.5K 

shares

१२ साउन, खोटाङ । गाउँमा विरलै पाइने बास्नादार मसला सिन्कौली खेतीतर्फ खोटाङका किसान आकर्षित भएका छन् ।

व्यावसायिक हिसाबले यसको उत्पादन नभइरहेको जिल्लामा पछिल्लो समय व्यापारीले खोजीखोजी खरीद गर्न थालेपछि किसानले यसै वर्षबाट सिन्कौलीको बिरुवा रोप्न थालेका छन् ।

सिन्कौली अर्थात् तेजपात (दालचिनी) का नामले प्रख्यात मसलाको ठूलो रुख हुने गर्दछ । यसको पात, बोक्रा र जरासमेत मसलाको रुपमा प्रयोग गरिँदै आएको छ । यसरी उत्पादन हुने सिन्कौलीको विभिन्न भाग राम्रो मूल्यमा बिक्री हुने भएपछि स्थानीय किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।

अब प्रविधिको परिवर्तन आएसँगै कमजोर आर्थिकस्तर रहेका किसानले नयाँ विकल्प खोज्न थालेको जिल्ला वन महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए । जिल्लाका किसानले हाल डिभिजन वन कार्यालय खोटाङ, सामुदायिक वन उपभोक्ता महासङ्घ र विभिन्न कृषि फर्मसँगको सल्लाहामा सिन्कौलीको बिरुवा किनेर वा निःशुल्क प्राप्त गरेर खाली जमीनमा रोप्न शुरु गरेका छन् ।

नजिकको होलसेल बजारमा सिन्कौलीको पात प्रतिकिलो रु ६० र बोक्रा प्रतिकिलो रु १५० का दरले बिक्री हुने गरेको छ । छिमेकी जिल्ला उदयपुरको बेल्टार, गाईघाट, कटारीलगायतका बजारमा सिन्कौली सङ्कलन गरिन्छ ।

थोरै लगानीमा धेरै आयआर्जन हुने भएकाले यहाँका किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका महासङ्घका अध्यक्ष राईले बताए । “सदाबहार हरियाली रहने सिन्कौलीखेती वातावरणीय हिसाबले समेत उत्तिकै फाइदाजनक छ”, उनले भने, “हाम्रो जिल्लामा यसको राम्रो सम्भावना पनि छ । बजार पनि राम्रो छ ।”

यसको व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रम अझै प्रभावकारी बनाएर ल्याउनुपर्ने भन्दै किसानले सिन्कौली खेतीबाट निकै राम्रो आम्दानी गर्न सक्ने जनाइएको छ । सामुदायिक वन क्षेत्र तथा व्यक्तिका बाँझो जमीनमा सिन्कौली खेती लगाएर वैकल्पिक आयआर्जन गर्न सकिने महासङ्घका अध्यक्ष राईले बताए ।

सिन्कौली हाल चिया, पुलाउ, मासुको परिकार लगायतलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाका रुपमा प्रयोग गरिन्छ । बजारमा पाइने अधिकांश मसलाको आइटममा दालचिनीको नाममा यसको व्यापार व्यापक छ ।

सिन्कौलीको उपयोगिताका बारेमा गाउँघरमा कम जानकारी भएका कारण हालसम्म त्यसको पालुवा गाईवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठकारुपमा प्रयोग गर्ने गरिएको छ । अलि बढी मात्रामा सिन्कौली हुर्काएका किसानले भने पात टिपेर सुकाएर उदयपुरको बेलटारसम्म पुर्याएर बिक्री गर्ने गरेका छन् ।

सिन्कौलीको पात र बोक्राबाट मसला, औषधिजन्य तेल समेत उत्पादन हुने गर्दछ । सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचन शक्ति बढाउन, रोकिएको पिसाब खुलाउनदेखि मुटुसम्बन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको अध्यक्ष राईले जानकारी दिए ।

खोटाङमा ९५ प्रतिशत रोपाइँ

बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङ जिल्लामा हालसम्म ९५ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन १५ नबित्दै ९५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको हो ।

बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । “चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाइँ हुने छ”, उनले भने, “जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा मात्र धानखेती लगाउने गरिएको छ ।”

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् ।

जिल्लाको हौँचुर, खार्पा, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछिता पोखरी, सिम्पानी, ईन्द्रेणी पोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावा कटहरे, खोटाङ बजारलगायतका ठाउँमा सबैभन्दा बढी धानखेती हुने गरेको छ । सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने तीन हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, केपिलासगढी, एँेसेलुखर्क, साकेला, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा अहिले धमाधम धान रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उक्त नगर तथा गाउँपालिकामा रोपाइँको काम अन्तिम चरणमा पुगेको किसानले बताएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा भने रोपाइँ ढिलो शुरु भएको छ ।

उक्त दुई गाउँपालिका बेँसी क्षेत्रमा पर्ने भएकाले गत असार १५ देखि मात्रै धान रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष समयमा पानी परेकाले शत–प्रतिशत रोपाइँ हुने र उत्पादनसमेत बढ्ने अनुमान गरिएको निमित्त प्रमुख राईले बताए ।

दश स्थानीय तह रहेको जिल्लामा उन्नत् जात अन्तर्गत मकवानपुर एक, खुमल प्रजाति, राधा तथा स्थानीय प्रजातिका बास्मती, चम्पासरी, पात्लेमार्सी, अटेमार्सी लगायतका धानखेती गरिन्छ ।

खेतीपाती बाहेक अन्य आम्दानीको अन्य स्रोत नहुने यस जिल्लामा गतवर्ष लामो समयसम्म खडेरी जाँदा ४० प्रतिशत खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रको अनुमान छ । दैनिक छाक टार्न एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरी र फौजी कीराको प्रकोपले सखाप पारेपछि जिल्लामा भोकमरी भएको थियो ।

खडेरीले सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दालाई समस्या पारेको थियो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा खडेरीका कारण खाद्यान्न सङ्कट भएपछि नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरीद गरेर नगरवासीलाई वितरण गरेको थियो ।

वि.सं.२०७८ साउन १२ मंगलवार १६:३९ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...