साउन ३२, काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालले निकै माग राखेको टिप्पणी गरेका छन् । एक सञ्चारमाध्यमलाई एमाले विवादबारे प्रतिक्रिया दिँदै उनले नेता नेपालले विधि र पद्धतिभन्दा बाहिरबाट माग राखेको बताए । नेता नेपालले राखेको माग राजनीतिक रुपमा मजाक रहेको टिप्पणी उनको छ ।
‘महाधिवेशनको निर्णय नमान्ने हो भने उहाँले महाधिवेशनमा भाग कि लिनुभयो ? उहाँले कुनै हैसियतमा बराबरी अध्यक्ष माग्न मिल्छ ? यो लोकतन्त्रमाथि उडाएको मजाक होइन् ?’ ज्ञवालीले प्रश्न गरेका छन्, ‘पार्टीको विधिभन्दा बाहिर गएर मनपरी गर्नेले फेरि पार्टीकै विधिलाई लत्याएर अध्यक्ष माग्नु, यहाँभन्दा गलत कुरा के होला ?’
पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले देखाएको लचकता अति नै भएको उनको टिप्पणी छ । उनले माधव नेपाल एमालेमा फर्किन सम्भव नरहेको पनि बताए ।
‘आफ्नै पार्टीको सरकार ढलाउनु भयो, अहिले गठबन्धनको नेता हुनुहुन्छ, पार्टीका विरुद्व गठबन्धनका नेताहरुको पक्षमा काम गरिरहनुभएको छ, उहाँ पार्टीका अध्यक्षलाई भेट्नुहुन्न तर गठबन्धनलाई नेतालाई दिनै बिच्छे भेट्नुहुन्छ, उहाँ कता लाग्दै हुनुहुन्छ स्पष्टै छ’, उनले भने ।
उनले एकता चाहनेहरुले एमाले जोगाउने पनि बताए । ज्ञवालीले भीम रावल, भीम आचार्य र सुरेन्द्र पाण्डेसहितका नेताको भूमिका पार्टी हितमा रहेको बताए ।
वि.सं.२०७८ साउन ३२ सोमवार १२:२० मा प्रकाशित






























