त्यहाँ कालिन्दीका विमल तटको रेणु रजमा
अँगालोमा दाऊ वरिपरि सखा वेणु करमा
अनौठो झाँकीको अतिशय कला शोभन गरी
बसेका छन् प्यारा मधुरमुरली वादन गरी ॥१॥
अहो ! त्यो घुम्रेको अलक मुखमा चुम्दछ जति
छ कर्के आँखाको छिन छिन इशारा अझ कति
गलामा वैजन्ती कमरबिच पीताम्वर छटा
त्रिभङ्गीको बेग्लै नटवर अदा सुन्दर घटा ॥२॥
मिलेका मोतीझैँ अति चमकिला दन्त लहरी
हिरा पन्ना माला शिर मुजुरको पङ्ख पगरी
बसी छर्छन् आभा रवि किरणको लेपन गरी
सुधा वर्षा गर्छन् असिम सुखको रोगन छरी ॥३॥
सजाऊँ कान्हाको हृदयतलमा मोहक छवि
निहारूँ प्याराको मुखकमलमा मोहित बनी
दुबै आँखा चिम्ली ललित रुपको दर्शन गरी
बगाऊँ आनन्दी करुण रसको निर्मल(झरी ॥४॥
सधैँ सेवा गर्दै तन मन सबै अर्पण गरूँ
सखी प्यारी बन्दै प्रणय रसको सिञ्चन गरूँ
बजून् बाजा गाजा श्रुतिमधुर सङ्गीत लहरी
सँगै नाचूँ गाऊँ निमिषभर विश्राम नगरी ॥५॥
वि.सं.२०७८ भदौ १४ सोमवार ११:३२ मा प्रकाशित






























