भदौ १६, काठमाडौं । नेकपा (एमाले) का १० जना प्रदेश सभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । भदौ १० मा शेरधन राईलाई राजीनामा गराउँदै नियुक्त भएका उनी ६ दिनमै अल्पमतमा परेका हुन् ।
१० सांसदले नेकपा (एस) रोजेसँगै आचार्यको पक्षमा मात्रै ४१ सांसद पुगेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतमा लागि कम्तिमा ४७ सदस्यको समर्थन चाहिन्छ तर, आचार्यको पक्षमा ७ सांसदको कमी भएको छ ।
प्रदेशसभामा अब एमालेका ४१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस)का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ सांसद छन् ।
राजीनामा नदिए ठेगाना लगाउँछौं : राजेन्द्र राई
नवगणित नेकपा (एस)को पक्षमा सनाखत गरेका नेता तथा प्रदेश सभा सदस्य राजेन्द्र राईले आचार्यलाई तत्कालै राजीनामा दिन माग गरेका छन् । उनले राजीनामा नदिए ठेगान लाउने पनि चेतावनी दिएका छन् ।
‘केपी ओलीको संगत थोरै मात्रै गर्नुभएको हुनाले उहाँले (आचार्य) नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने लागेको छ,’ सनाखत पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राईले भने, ‘एमाले अध्यक्षकै लाइनमा आए हामी कानूनी हिसाबले ठेगान लगाउँछौं ।’
अन्य प्रदेशमा जस्तै प्रदेश १ मा गठबन्धन नेतृत्वको सरकार बन्ने उनको भनाई छ । केन्द्रमा जस्तै प्रदेशमा पनि सत्तारुढ गठबन्धनले प्रदेशमा पनि सत्ता साझेदारी गरिरहेका छन् । एमाले विभाजनसँगै बागमती र प्रदेश १ का सरकार परिवर्तन गर्ने गठबन्धनको तयारी छ ।
वि.सं.२०७८ भदौ १६ बुधवार १६:३४ मा प्रकाशित





























