भदौ २८, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद खुलाउन सभामुख अग्निप्रसाद सापकोटालाई दुई विकल्प दिएको छ । एमालेले माधवकुमार नेपालसहित १४ सांसदहरुको पदमुक्त भएको सूचना टाँस्न गर्न वा स्वंय सभामुखले मार्गप्रशस्त गर्नुपर्ने विकल्प अगाडि सारेको हो ।
सोमबार सभामुखले बोलाएको सर्वदलीय बैठकमा नजाने निर्णय गरेको एमालेले नेकपा (एस)को सहभागिता नै अवैध भएको बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई १४ सांसदको पदमुक्त भएको सूचना टाँस गर्न वा आफुँले मार्गप्रशस्त गर्न विकल्प दिएको बताएका छन् ।
उनले सञ्चारमाध्यमलाई बताएअनुसार दुई माग पुरा नहुँदासम्म संसद बैठकमा अवरोध कायमै रहनेछ । मार्गप्रशस्त भनेको राजीनामा नै भएको बताइएको छ ।
एमालेले संसद बैठक निरन्तर अवरोध गरेपछि सभामुख सापकोटाले सोमबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । उनले अवरुद्धको निकास खोजिनुपर्ने बताउँदै आएका छन् । तर, एमालेको अडान नफेरिने देखिएको छ ।
वि.सं.२०७८ भदौ २८ सोमवार ०७:२५ मा प्रकाशित






























