काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै अधिवक्ता विशाल न्यौपानले रिट हालेका हुन् ।
उक्त रिटको पेशी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतले स्रोतले बताएको छ ।
रिटमा परराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम शपथ लिएको भनिएकोमा उक्त धारामा उल्लेख गरिएको ‘संघीय कानुन बमोजिम’ भन्ने व्यवस्थालाई पालना नगरिएको जिकिर गरिएको छ । कुनैपनि कानुनी व्यवस्था नगरी शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी गर्न माग रिटमा गरिएको छ ।
‘नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम पद् तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था गरेको छ। यसरी भएको सवैधानिक व्यवस्थाविपरीत मिति २०७८/०६/०६ मा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा परराष्ट्र मन्त्रीमा नियुक्त डा. नारायण खड्काले संविधानको धारा ८० बमोजिम सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएको भनिएकोमा संवैधानिक प्रावधान बमोजिम धारा ८० भनिएता पनि उल्लेखित धारा अनुसार ‘संघीय कानुनबमोजिम’ हुनुपर्नेमा कुनै पनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानुन निर्माण गरी सोहीबमोजिम शपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु’, रिटमा भनिएको छ ।
वि.सं.२०७८ असोज १२ मंगलवार १६:०५ मा प्रकाशित





























