काठमाडौं । नेपाल पत्रकार महासंघले भारतीय योग गुरु रामदेवले नेपालमा विदेशी लगानीको टेलिभिजन खोलेर नेपाली कानुनको ठाडो उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ ।
महासंघले भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्रीले गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
‘नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन हो,’ ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएको भन्दै महासंघले सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण समेत गराएको छ ।
‘स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष महासंघको छ ।’ महासंघ महासंघका महासचिव रोशन पुरीद्धारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ ।

दर्ता नगरी विदेशी लगानीका टेलिभिजन प्रमद्धारा उद्घाटन हुनु आश्चर्यजनक-अध्यक्ष कमल थापा
वि.सं.२०७८ मंसिर ५ आइतवार १४:४७ मा प्रकाशित





























