काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले मंगलवार बसेको बैठकको निर्णयमा फरक मत राखेका छन् ।
रावलले राखेको फरकमतको पत्रमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्बन नगरिएको भन्दै असहमति जनाएका हुन् ।
रावलले उक्त पत्रमा सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्बन नगरी सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमको प्रतिनिधिको नाम पठाइएको प्रति १२२३ पार्टी सदस्यले विरोध जनाउँदै हस्ताक्षर गरी पठाइएकोमा त्यसको कुनै सुनुवाई नभएको लेखेका छन् ।
‘उक्त प्रकारको अनियमित कार्य कदर गरी विधिवत निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको र यस्तो अनियमित र गलत कार्य बदर गरी विधिसम्म प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु । ’ रावलको पत्रमा उल्लेख छ ।
रावलले एमालेको दशौ राष्ट्रिय महाधिबेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एमालेको अध्यक्षमा उम्मेदवारी दिएर यो देशको विकास समृद्दिमा लाग्ने अठोटसहित उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

वि.सं.२०७८ मंसिर ८ बुधवार २०:२१ मा प्रकाशित






























