ऊ भन्दै थियो
धुवा र रक्सीको गन्धमा अड्किएपछि
मैले चुरोटको ठुटो सल्काएँ
खरानी एस्ट्रेमा झार्दै
तिम्रा एल्बमहरू पल्टाएँ
पहिलो तस्विरमा
तिमी पाउजु लाउदै थियौ
उदाङ्गो कुर्कुच्चा
छमछम पाउजु बजेको याद आयो
दोश्रो तस्विरमा
तिमी दुलही भएकी थियौ
विवाह मण्डप थियो
आगो थियो
धुवाँ थियो
रङका लक्ष्मणरेखाहरू थिए
तेश्रो तस्विरमा
तिमी स्वयंवर गर्दै थियौ
हो त्यही दृश्यमा विचलित थिएँ म
मेरो मुटु पनि कुनै सिसाको थिएन
चर्कनै नसक्ने,
मेरो मन पनि अविचलित पहाड हैन
यताउता फर्कनै नसक्ने
तिम्रा औंलामा औंठी छिराउदा
तिम्रो गलामा माला पहिर्याउदा
तिमीले जग्गे घुमेर
अग्नी साक्षी राखेर सपथ लिंदा
गला सिँउदो रङ्गीन हुँदा
अग्नीकुण्डको आगो
किन रुमल्लिएर धुवाँ भयो
आकाश किन निलो भएन
घाम किन बादलमा छेकियो
मैले साँटेको मेहन्दीले
आँखाको गाजल किन मेटायो
मुस्कुराउनु पर्ने तिमी
आँखा रातो पारेर रसायौ
मेरो मुटु पनि कुनै सिसाको थिएन
चर्कनै नसक्ने,
मेरो मन पनि अविचलित पहाड हैन
यताउता फर्कनै नसक्ने
एकाएक पग्लिएर
विश्वासका फूल आँखाबाट झरेपछि
उजाड हुँदोरहेछ जिन्दगी
चौथो तस्विरमा हेर्न सकिन
परन्तु याद छ
सल्बलाई रहेका नाग नागिनी थिए
एकोहोरो निश्वासको वासना थियो
वरिपरि
केबल अन्धकार मात्र थियो
चीत्कार्दै तिम्रो शीत्कार सुनिरहें
उसले भनि
विवशतामा लाजका गहना छोपिएनन्
म उधारिएँ ..!
वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:३५ मा प्रकाशित






























