मनैभित्र आँट्ने अहो विश्व सारा,
यसैले त बुझ्ने गरेको इशारा ।
दुखेको दुखेसो भए झट्ट फालौं,
व्यथा हो मनोरोग आजै निकाला ैं।१।
मनै हो खुशी वेदना व्यक्त गर्ने,
कतै ठेस लाग्दा अहो नीर झर्ने ।
भरौं जोस मनमा,नयाँ कार्य थालौं,
व्यथा हो मनोरोग आजै निकालौं ।२।
सके रिझ्न यो मन् धरा स्वर्ग बन्छ,
सबै यो कुना कन्दरा स्वर्ग बन्छ ।
दियो शान्तिको आज मनभित्र बालौं,
व्यथा हो मनोरोग आजै निकालौं ।३।
यहाँ औषधी छन् सबै दर्द हर्ने,
कठै छैन मनको व्यथा अन्त गर्ने ।
टुटेको भए प्रेमले मन् पगालौं,
व्यथा हो मनोरोग आजै निकालौं ।४।
छन्द: भुजंगप्रयात
सीता शर्मा ’शीत’, सिक्किम
वि.सं.२०७८ पुस ३ शनिवार ०८:०५ मा प्रकाशित






























