‘के को जातिविधि कराउँछे, थुतुने ! नआइज मेरो सामुन्ने, जता लखरलखर हिँडे पनि हुन्छ । केही पिर छैन मलाई, यस्ता आजभोलि आफ्नै छोराछोरीले आमाबाउ मारेर फालेको देखेकी छु मैले ।’ एक वृद्ध आमा हामीलाई देख्ने बित्तिकै यतिकै कराउन सुरु गरिन् ।
अचम्म लाग्यो हामीलाई, हामीले यिनी आमालाई यो भन्दा पहिले कहिल्यै भेटेका थिएनौँ । तर, यी आमा भने हामीलाई सानैदेखि पालेको जस्तै गाली गरिरहनुभएको छ । हामी अलमल भयौँ । तर फकाउनु त पर्यो बुझ्नु पनि पर्यो । के थाहा, न यो आमालाई भर्खरै कुनै गहिरो चोट लागेको हुन सक्छ । या, कसैले घात गरेको हुनसक्छ र हामी मध्ये कसैको अनुहार मिलेको हुन सक्छ ।
‘नमस्कार आमा’ मैले नै सुरुवात गरेँ ।
–‘ऊ आई चोसो पसार्दै पर्दैन जा जा उता जा मेरो सामुन्ने नआइजा’ आमा अझै चिच्याइन् ।
कुरो केही बुझ्न सकिएन । अब हामीले वास्ता नगर्ने निर्णय गर्यौँ बोल्नु उचित लागेन । अन्य वृद्ध महिलातर्फ उन्मुख भयौँ । सबैका कुरामा मानसिक रूपमा थकित, विक्षिप्त, प्रताडितपनाको झल्को हामीले पायौँ । एक वृद्धाश्रममा राखिएका आमाबाबुको कथा के नै हुन सक्छ र ? केही समय भेटघाट पछि हामी फर्किने तयारीमा थियौँ । गेट अगाडि केही आवाज सुनियो । गएर हेरेको भर्खरै कसैले अर्की एक वृद्ध गेटमा छोडेर गएछन् । छोडेर हावाको गतिमा कहाँ पुगे ती मान्छे देखिएनन् ।
वृद्ध सेवाआश्रमका व्यवस्थापकले प्रहरीमा खबर गरे । प्रहरीले पनि छानबिनसम्म यही राखिदिन अनुरोध गरे । हामी फर्कियौँ आजै हामीलाई नरमाइलो लाग्यो । तर के गर्न सकिन्छ र ? फेरि आउने वचनवद्धताका साथ हामी निस्कियौँ ।
हामी बसमा चढ्यौँ । मेरो सिट पछाडी बसेको दुई केटाहरू थिए खुसुखुसु गफगर्दै मेरो कानमा पर्यो – ‘बुढिलाई त्यहाँ छोडेर आनन्द भयो । त्यो बुढी बोल्यो कि मेरो पारा तात्छ । घाँटी अठ्याएर मारिदिऊँ जस्तो हुन्थ्यो । लगातार बोलेको बोल्यै । मेरो हातबाट मर्न लेखेको रहेनछ । धन्न मेरो हातबाट पाप हुन पनि लेखेको रहेनछ । एकदिन त मैले जगल्टा समातेर धन्न खोलामा मिल्काइ दिन लाएको । अब आनन्द भयो । बौलाही देखि छुटकारा पाइयो । कुन जुनीको कुरा सम्झेर हामी सबैलाई मनलाग्दी बोल्ने हो कुन्नि ?’
मलाई हो न हो, कहिं भर्खरै वृद्धा आश्रममा ती बुढी आमालाई छाडेको कुरा गर्यो कि यो मान्छेले भन्ने शंका लाग्यो र, अचम्म लाग्यो । त्यो बुढी आमा बौलाही हुन् भने यो केटा चाहिँ सध्ये हो ? ठिक छ त यस्तो सोंचको मान्छे मानसिक रूपमा ? तर कसरी बुझ्नु ?
वि.सं.२०७८ पुस ३ शनिवार ०७:५२ मा प्रकाशित






























