काठमाडौं । प्रथम राष्ट्रिय सम्मेलन भनेर सोहिअनुसार तयारी गरेको माओवादी केन्द्रले अन्ततः यसैलाई आठौं महाविधेशनको रुपमा आज उद्घाटन गर्दैछ । माओवादी केन्द्रको शनिबार साँझ बसेको स्थायी समिति बैठकले सम्मेलनलाई महाधिवेनशमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
माओवादीले यसअघि राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्ने र शक्ति प्रदर्शनसहित महाविधेशन गर्ने तयारी गरेको थियो । तर, माओवादीले अचानक रुपमै सम्मेलनको तयारीलाई रोकेर महाधिवेशन गर्ने निर्णय गरेको छ । जसलाई निकै चासोपूर्वक पनि हेरिएको छ ।
राष्ट्रिय सम्मेलनलाई किन बनाइयो महाधिवेशन ?
राष्ट्रिय सम्मेलनलाई महाधिवेशन बनाउने निर्णय गरिएको बारेमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे केन्द्रीय समिति बैठकमा कारणबारे जानकारी गराएका छन् । महाविधेशनको प्रक्रिया पुरा भएको कारण महाधिवेशन नै गरेर जाने निर्णय भएको बताएका छन् । विधान संशोधनदेििख नेतृत्वमा फेरबदल गरिने कुरालाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्नु उचित हुने देखेपछि यस्तो निर्णय गरिएको उनले बताए ।
प्रचण्डले भनेका छन्, ‘सम्मेलनमा विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा, हामी जाने समाजवादको बाटो कस्तो हो भन्नेमा नै विस्तारपूर्वक गर्दै छौँ । जुन अरू पार्टीले गरेनन्। त्यसकारण यो सबै प्रक्रिया पुर्याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने त्यसले पनि देखियो। हामी विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्दै छौँ। त्यसले पनि यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखियो।’
प्रचण्डले सम्मेलन र महाधिवेशन भन्ने कुरामा कानूनी विषय पनि जोडिएको बताएका छन् । उनका अनुसार जे–जस्तो प्रक्रिया गरेर सम्मेलनको तयारी गरियो त्यो कानुनी रुपमा महाधिवेशन भन्दा उपयुक्त हुने अवस्था देखिएसँगै महाधिवेशनको निर्णय गरिएको उनले सुनाए ।
‘अनि हामीले वैधानिक र कानुनी ढङ्गले के हुन्छ भनेर केन्द्रीय हाम्रो समितिकै सदस्य कमरेड मुक्ति प्रधानलाई यसको वैधानिक र कानुनी पाटो के हुन्छ निर्वाचन आयोगसँग पनि संविधान तथा कानुनको पाटो हेर्नुपर्यो भनेर उहाँलाई जिम्मा लगाइयो। उहाँले बुझ्दा भेला, सम्मेलन र महाधिवेशन जे भने पनि तपाईंहरूको कुरा हो तर एउटै कुरा भेला, सम्मेलन वा महाधिवेशन जे भन्ने भए पनि केन्द्रीय समितिले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिनुभयो भने महाधिवेशन भन्दा केही आपत्ति हुँदैन भन्ने निर्वाचन आयोगका जवाफ आयो’, केन्द्रीय समिति बैठकलाई बिफ्रिङ गर्दै उनले भनेका छन्, ‘ हामीले संविधान पनि हेर्यौँ, त्यहाँ महाधिवेशन, भेला यति वर्षमा गर्नुपर्छ भन्ने छैन, बरु ५ वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्नेछ भन्ने छ। त्यसो भएर हामीले गरेका सबै काम महाधिवेशनका गर्ने तर नाम चाही सम्मेलन राख्नुभन्दा महाधिवेशन नै भन्नु उचित हुन्छ, त्यसले दिने सन्देश नै बलियो हुन्छ र हामीले पारित गर्ने दस्तावेज र विधानको महत्त्वका साथै समावेशी, समानुपातिक सम्बोधन गर्दै छौँ भनेर राष्ट्रिय सम्मेलन नै भन्नुपर्छ भन्ने छैन।’
वि.सं.२०७८ पुस ११ आइतवार १२:१९ मा प्रकाशित






























