म
युगौंदेखि
दृश्यमा
यो अद्भुत संसार
वैभवले
धपधप बलेको देख्छु ।
फरक यति हो
ऊ !!
भोकको चित्कार ओढेर
काम क्रोध लोभ मोहमा
हुर्हुर्ती जलेको देख्छ ।
दृष्टिभ्रम कसको हो ?
दिग्भ्रमित छ
चेतनाको चेत
समय
युद्ध र शान्तिका डोबहरु उधिनेर
कथाको रचना गर्दैछ ।
धर्म दर्शन शास्त्र वादको
दोकान
बिनानिष्कर्षको प्रवचनमा
अर्थहिन
वाकचातुर्य छाँटेर
संगीतविहिन
थोत्रो विणाको तार
रेटिरहेको छ, रेटिरहेको छ ।
बाबुराम न्यौपाने “उत्स“, दमक, झापा
वि.सं.२०७८ पुस २४ शनिवार ०८:३६ मा प्रकाशित






























