१
यो जिन्दगी दुःख होईन बाचुञ्जेलको घुमफिर लाग्छ
दुःख आफ्नै सारथी आफ्नै कर्मआफ्नै तग्दिर लाग्छ
म मर्छु भन्ने मलाई मृत्युसंग बिल्कुल डर छैन प्रिया
मरेपछि तिमीसंग भेट नहोला कि साह्रै पिर लाग्छ ।
२
म शोलामा चढ्दा नाडीको बाला चढायौ
मेरो लाश माथि स्वयम्बरको माला चढायौ
सधै मलाई चिसो होला चिन्ता गर्थेउ प्यारी,
र त मेरो लासमा आगाका ज्वाला चढायौ ।
३
लाग्नेलाई स–साना खुशी पनि सबथोक लाग्छ
छोरा नहुनेलाई आमा भन्दिए नि सन्तोक लाग्छ
म मेरै पेटलाई गरिबी बिशेषज्ञ यसकारण भन्छु
घरमा चामल सकिएकै दिन झन् पो भोक लाग्छ ।
४
जिउँदाहरु बाँच्नु नै पर्छ मरेका झन मर्नुपर्छ
आफ्नै मृत्यु सम्झेर केही न केही त गर्नुपर्छ
लगाउ प्रिय दुईचार सिक्का सानो खुत्रुकेमा
गरिब मर्दा पनि केही पैसा बाटामा छर्नुपर्छ ।
५
जति बुबा आमाको सपना उति उन्नती पाईदैन
पैसा छ किन्छु भन्दा सद्बुद्धि वा मती पाईदैन
बरु बिहे नै अचुक उपचार हो तिम्रो छोराको
प्रेममा डुबेर पागल हुनेको अरु ओखती पाईदैन ।
प्रज्वल पुकार, पाख्रीबास नपा ४ धनकुटा
वि.सं.२०७८ माघ ८ शनिवार ०७:४९ मा प्रकाशित






























