गरे कर्म काला दुखाएर छाती ,
खुसी जोर्न खोजेँ बुझाएर छाती ।
भने ज्योतिषीले चले राहु केतु ,
झ–यो अश्रु गङ्गा रुझाएर छाती ।
रुँदा व्यक्ति साना बडा चिम्म गर्छन् ,
कहाँ हिँड्न सक्नू सुझाएर छाती ।
म बाँचूँ बचाऊँ सधैँ बक्छ मान्छे ,
चुसेका चुस्यै छन् रुवाएर छाती ।
सबै बाँच्नलाई स्वयम् उठ्नुपर्छ ,
मिली शक्ति गाँठो जुटाएर छाती ।
जमी उठ्न सक्लान् श्रमी वर्ग माथि,
छरूँ ज्ञान आभा घुमाएर छाती ।
मिली साथ बढ्ने गरूँ यत्न यौटा,
जिऊँ सौख्य भोगी उठाएर छाती ।
बहर- मुतकारिब मुसम्मन सालिम
१२२ १२२ १२२ १२२
दीनानाथ पोख्रेल ,इलाम
वि.सं.२०७८ माघ ८ शनिवार ०७:४९ मा प्रकाशित






























