देउराली काटुञ्जेल पनि मेरी आमा भुर्ताल
कराइरहिथिइन्
किनकि म घरमा बेकार रहेको थिएँ
मधुसजस्तो
प्रयोगविहीन
होल्टो भएको छ मेसिनले काम
मान्छे चाहिदैन
आधा काम घटेको छ
मान्छेको आवश्यकता अवस्था हेरिकन पर्छ
मान्छे अचेल ओखल र ढिँकी भएको छ
तोरी पेल्ने कोल भएको छ
चाहिँदाको ठाँडो भएको छ मान्छे
देउराली काटिसकेर पनि बा कराइरहेथे एकहोरो
गाईको बाच्छो जस्तो भएको थिएँ
खेतबारी जोत्ने काम मेसिनले खोस्यो
मेरो मासुपनि बर्जित छ
छाला पनि प्रतिबन्धित छ
गाई गहुँतको लागि पालिएको छ
न हलो न बलो सिमलको ठुटो ।
देउराली काटेर पनि प्रियसी कराइ रहेथिइन्
किनकि म काठको हर्पे र ठेकी जस्तो भएँ
काठको ठाउँ प्लाष्टिकले लिइसक्यो
बेकार फोहर जस्तो भइसकेँ
राख्ने ठाउँ पनि छैन्
मिल्काउन पनि यसैमा विरासत टिकेको छ
मान्छे नामक पहिचान छिपेको छ
नत्र सिद्रा सुँघेर पनि छाक टारिन्थ्यो ।
निम्ब तरू, मालारानी, अर्घाखाँची
वि.सं.२०७८ माघ ८ शनिवार ०७:५० मा प्रकाशित






























