राजनीतिको रंगमञ्चमा
मुख्य नायक अरु कोहि थियो
बा त्यही नायक पछिपछि
सपनाको झोला बोक्नु हुन्थ्यो
र लाउनु हुन्थ्यो धोद्रे स्वरमा
परिवर्तनको नारा
बाड्नु हुन्थ्यो एक अञ्जुली
अनिश्चित भविष्यको
विकसित आशाहरु
र विस्फोट हुन्थ्यो
कलेज विद्यार्थीको एक हुल थप्पडी
बटुल्नु हुन्थ्यो बेरोजगारी युवा पैतालाहरु
फलाक्नु हुन्थ्यो टुहुरा बनाइएको
वृद्दाआश्रमको अभिभावकत्व
ओकल्नु हुन्थ्यो
आफैंले बनाएको घर
घर बनिसकेपछि
दैलो बाहिरै बारिएको
गुमाने सार्किको चीत्कार
र जोडजोडले,स्पिकर फुट्लाझै गरि भन्नू हुन्थ्यो
बलात्कारीलाई सजाय
र पीडितलाई राहत र सुनिश्चितता
भेदभाव वा सम्पूर्ण अराजकताको अन्त्य
तमाम चेलीको जीवन रक्षाका लागि
तिम्रो भविष्यको लागि
एक भोट देश समृद्धिको लागि
हिजो बिदेशबाट छोरा
बाकसमा आएको दिन
आफ्नै छोरी बलात्कृत भई
मन्दिर छेउमा बीभत्स लास भेटेपछि
बा आफैले ठेगान लगाउनु भो
आफ्नो बोलिको
आफ्नै दलिनमा झुन्डिएर ।।
अजय बैरागी, रतनपुर, कटारी ७ उदयपुर
वि.सं.२०७८ माघ २२ शनिवार ०४:४९ मा प्रकाशित






























