कुनै दिन तिमी अपाङ्ग थियौ
र मैले मेरा
आधा आधा हात खुट्टा गिडेर दिएको थिए
कुनै दिन तिमी अन्धो थियौ
र मैले मेरा
आधा आधा आँखाका नानीहरु च्यातेर दिएको थिए
मुटुको धड्कन घटेर गयो भन्यौ
र मैले मेरो
हत्केलाले मुटु निचोरेर भर्दिएको थिए मुटुका धड्कनहरु
साँस एकोहोरो बढिरह्यो भन्यौ
र मैले मेरै साँस भर्दिएपछि मात्र
तिमीले दोहोरो साँस फेर्न थालेकी थियौ
मुस्कानले त पहिल्यै आत्महत्या गरिसकेको भनेउ
र मैले मेरो
आधा आधा ओठ लुछेर दिए
अनि त मलाई कहिले काँही बाँच्न सिकाउथ्यौ
मैले तिमीलाई निश्वार्थ जे जे दिए
ऋण लगाएको होईन
कसम सापटी दिएको थिएन
सट्टामा किन यति अनमोल उपहार दियौ
अहिले तिमीले दिएको आँसु नपिईकन
मेरो घाँटीले एक सितो अन्न निल्न पनि सक्दैन ।।
प्रज्वल पुकार,पाख्रीबास नपा–४, धनकुटा
वि.सं.२०७८ माघ २२ शनिवार ०४:५० मा प्रकाशित






























