काठमाडौं । एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको सहमतिप्रति माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र गम्भीर मतभेद देखिएको छ । गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिप्रति नेताहरुले खुलेरै आपत्ति जनाएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गठबन्धनबीचको सहमति विदेशी शक्ति सामु झुकेर गरिएको निर्णय भएको बताए । उनले एमसीसी संसदमा लैजाने विषय पनि राष्ट्रघाती भएको बताए ।
“यो विदेशी शक्तिको सामू झुकेर गरिएको निर्णय हो”, खनालले सञ्चारमाध्यमलाई भनेका छन्, “हाम्रो पार्टीको निर्णय त्यस्तो छैन, हामी त्यसमा सहमत छैनौं, यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ ? यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।”
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि गठबन्धनबीचको सहमतिप्रति विरोध जनाएका छन् । एमसीसीकै कारणले राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि गम्भीर चुनौति र संकट उत्पन्न भएको बताए ।
नेता श्रेष्ठले एमसीसीको खारेजीका निम्ति सबैलाई एकजुट हुन पनि आव्हान गरेका छन् ।
उनले भनेका छन्, “हाम्रो राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि यतिबेला गम्भीर चुनौति र संकट उत्पन्न भएको छ, सम्पुर्ण देशभक्त शक्तिहरु एक्जुट होऔं र राष्ट्रिय सार्भौमिकता, स्वाधीनता र हितको रक्षा गरौं ।”
गठबन्धनको बैठकमै बोलाइएन झलनाथ र नारायणकाजीलाई
एमसीसीको विषयमा निर्णय गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नै नबोलाइएको भेटिएको छ । शीर्ष तहको भनिएको बैठकमै एमसीसीको विरोधमा देखिएका दुवै नेतालाई नसमेटिएको हो ।
नेता खनाल र श्रेष्ठ निरन्तर एमसीसीको विरोधमा देखिएका छन् । खनालले एमसीसी निःशर्त खारेज गर्नुपर्ने बताएका छन् भने नेता श्रेष्ठले एमसीसीको विरोधमा भएको सडक प्रदर्शनमै उत्रिएका छन् ।
दलहरुबीच एमसीसी टेबल गर्ने सहमति भए लगत्तै श्रेष्ठले राष्ट्रिय स्वाधिनता जोगाउन आन्दोलन सबै एकजुट हुन आव्हान गरेका छन् । उनको अपिल सडक संघर्षमा आउनु भन्ने छ ।
सम्बन्धित समाचार
एमसीसी टेबुल गर्ने नेताहरुको निर्णयप्रति नेता नारायणकाजीको विरोध
एमसीसी टेबल गर्ने सहमतिप्रति दलहरुभित्रै गम्भीर मतभेद, झलनाथले जनाए आपत्ति
वि.सं.२०७८ फागुन ८ आइतवार १२:५२ मा प्रकाशित






























