आत्माले आत्मालाई
आत्मैदेखि श्पर्स गरेपछि,
परम् आनन्दको महासागरमा
छल्किरहेका छालहरूमा
प्रतिविम्वित हुन खोज्दै
पूर्णिमाको जूनले
क्षितिजबाट चिहाउनु अघि नै
ज्वारभाटाहरू उचालिन
र पछारिन थाल्छन् !
अनि एक निमेषमै
हज्जारौ बिजुलीको तरङ्गभन्दा
तेज गतिमा तरङ्गित भएका
छालहरूले धक्का हान्दै
निर्दोष किनारालाई
जब जबर्जस्ति पर धकेल्न थाल्छन् ।
हो त्यसैबेला
पृथ्वीको गर्भमा
एउटा बिन्दुभन्दा धेरै सूक्ष्म
करोडौ भ्रुणहरूको विजारोपण हुन्छ ।
जव ती भ्रुण
गर्भको अन्तस्करणभित्र
पुष्पित र पल्लवित हुँदै
क्रमशः पृथ्वीको आकार लिन थाल्छन्
ठीक त्यसैबेला
निर्जिव, बन्जर र स्खलित मनहरू
गर्वका साथ निमोठ्न थाल्छन्
पृथ्वीको गर्भभित्र
भर्खरैमात्र सिँचित भएका
असंख्य भ्रुणहरूको
अस्तित्वलाई !
तर ति निर्जीव र बञ्जर मनहरूलाई के थाह,
पृथ्वीले
फगत उज्यालो पुर्णिमामा मात्र होइन,
निष्पट्ट औँशीमा पनि
गर्भधारणगर्ने सामथ्र्य राख्छ,
यस ब्रम्हाण्डमा
आफ्नो अस्तित्व रक्षाका लागि
करोडौँ भ्रुणहरूको
संरक्षण गर्दै ।
किशोर कोइराला, इनरुवा, सुनसरी
वि.सं.२०७८ फागुन १४ शनिवार ०८:५५ मा प्रकाशित






























