दिलबहादुर, छोरीको विवाहको कुरा चलाए देखि, कसरी सम्पन्न गर्ने हो भनी पिरोलिएका थिए ।
आफ्नो बूढाको मुहार निन्याउरो देखेपछि पत्नीले सोधिन्, ‘हैन, तपाईं त ! छोरीको विवाहको कुरा चलाए देखि दुब्लाउँदै जानु भएको छ नि !’
‘के गर्नु, केटो आफू समानको खोज्नु पर्ने रहेछ …..।’
‘त्यसको लागि चिन्ता गर्नु भएको ? तपाईंको चार दाजुभाइ आफन्तहरू, मेरा दाजुभाइ दिदी बहिनिहरू त्यतिका छन् । गतिलो सरसामान दिनू, भन्छु । हामी पो कमजोर छौँ । उनीहरू त हुने खाने छन् । दिइहाल्छन् नि ! ’ श्रीमतीले यति भनेपछि उनको मन हल्का भएको थियो ।
उनीहरूले चाहे अनुसार आफन्तहरूले दाइजो दिएकाले छोरीको विवाह धुमधामका साथ गरेका थिए ।
दुई वर्षपछि जब उस्को देवरको छोरीको विवाह भयो । आफूले दिएको दाइजो चित्त नबुझेपछि हानेको वाणले उनलाई आजसम्म पनि घोचिरहेछ । अझ कतिले घोच्ने हुन् थाहा छैन ।
यमुना प्रधानाङ्ग ’मुना’
वीरगञ्ज, हाल इमाडोल, ललितपुर
वि.सं.२०७८ फागुन १४ शनिवार ०८:५७ मा प्रकाशित






























