काठमाडौं । रुस–युक्रेन द्धन्द्धका कारण समस्यामा परेका नेपालीको उद्धारका लागि नेपाल सरकार र एनआरएनएबीच उच्चस्तरीय समिति गठन भएको छ ।
एनआरएनएको आयोजनामा शनिवार भर्चुअल माध्यमबाट सम्पन्न भएको एक अन्तरक्रियाका क्रममा जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा ‘रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो ।
गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।
यस्तै सो समितिको सदस्य सचिवमा डा चिरन्जिवी खड्का (चेक रिपब्लिका), सदस्यहरुमा जीवन केसी (पोल्याण्ड), हरि बहादुर मल्ल (युक्रेन), शिव कुमार भुर्तेल (रुस), जया प्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिका), मिलन पन्त (जर्मनी), र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् ।
स्वास्थ्य सेवा उपसमिति गठन
यस्तै द्वन्द्व पीडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा.बोधराज सुवेदी (पोल्याण्ड) को संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।
अन्तरक्रियामा बोल्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपालीहरु दुतावासको सम्पर्कमा आएको जानकारी दिएका छन् ।
उनले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानिय संघसंस्थाहरुसँग समन्वय गरिरहेको जानकारी समेत दिए ।
सोहि अन्तरक्रिया कार्यक्रममा एनआरएनएका अध्यक्ष कुमार पन्तले युक्रेनका नेपालीहरुका लागि सबैप्रकारको सहयोग गर्न संघ तयार रहेको बताउँदै कोही पनि नेपाली अभिभावक बिहीन हुनुनपर्ने बताए ।
वि.सं.२०७८ फागुन १५ आइतवार १४:१२ मा प्रकाशित






























