back

दूध उत्पादनमा कमी आएपछि चिज उत्पादनमा समस्या

वि.सं.२०७३ चैत १ मंगलवार

588 

shares

१ चैत, सोलुखुम्बु । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो ।

निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला बाहिर जानेले कोसेलीका रुपमा चिजलाई लैजाने गरेका छन् । तर पछिल्लो समय चिज उत्पादनमा कमी आएको छ ।

सरकारले जिल्लामा चिज उत्पादनका लागि डेरी सञ्चालन गरेको ६० वर्ष तथा फार्म सञ्चालन गरेको ४३ वर्ष भयो । दुग्ध विकास संस्थान, लैनचौरले विसं २०१३ मा तत्कालीन गोली गाविसमा स्थापना गरेको पिके चिज उत्पादन केन्द्र विगत १० वर्षदेखि घाटामा छ । विसं २०३० मा तत्कालीन खुम्जुङ गाविसमा स्थापना गरिएको स्याङ्बोचे याक विकास फार्मले हालसम्म दुग्धजन्य वस्तुको उत्पादन गर्न सकेको छैन ।

चिज उत्पादन केन्द्रको उत्पादन क्षमता वार्षिक १२ हजार किलोबाट घटेर एक हजार किलोमा सीमित रहेको सो उत्पादन केन्द्रका इन्चार्ज कर्णबहादुर जिरेलले बताउनुभयो । चौँरीगाई पाल्ने कृषक घटेका कारण दूध उत्पादनमा कमी आएको छ ।

“अहिले दैनिक १५० लिटर मात्र दूध सङ्कलन हुने गरेको छ,” जिरेलले भन्नुभयो । दूध उत्पादन घटेका कारण चिज उत्पादनमा कमी आएको हो ।

यहाँ उत्पादित चिज नेपालकै उत्कृष्ट मानिन्छ । घाटा भएपछि सो केन्द्रले चिजको मूल्य यस वर्षदेखि प्रतिकिलो रु ३०० बढाएर रु एक हजार ४०० बनाएको छ ।

गोलीका चौरीपालक कृषक फुनुरी शेर्पा चिज उत्पादन केन्द्रले दूधको मूल्य अत्यन्तै कम दिएका कारण दूध बिक्री गर्न छाडेको बताउनुहुन्छ । सो केन्द्रले कृषकलाई दूध प्रतिलिटर रु १७ मा किन्दै आएको थियो ।

यस्तै याक ‘गोरु’, नाक ‘गाई’ को सङ्ख्या वृद्धि गर्ने तथा दुग्धजन्य पदार्थको उत्पादन गर्ने उद्देश्यले ४३ वर्ष पहिले खुम्जुङमा याक फार्मको विकास गरिए पनि अहिलेसम्म दुग्धजन्य वस्तुको उत्पादन गर्न सकेको छैन । दुई सय ९३ रोपनीमा फैलिएको उक्त फार्मको करिब ५० प्रतिशत जग्गा मात्र उपयोगमा छ । बाँकी जग्गा उपयोगविहीन छ । एक सय ६८ रोपनी जग्गा घाँस उत्पादन र चरन क्षेत्रका रुपमा प्रयोग भइरहेको सो फार्मका प्रमुख ललन यादवले जानकारी दिनुभयो ।

याक र नाकको सङ्ख्या घट्दै गइरहेका बेला नेपाल–चीन सीमा क्षेत्र नाङ्पालापास हँुदै तिब्बतबाट दुई वर्षअघि पाँचवटा याक र २५ वटा नाक ल्याएपछि सो सङ्ख्यामा वृद्धि भई ९५ वटा पुगेको छ । ती नाकले जन्माएका बाच्छा राख्ने ठाउँ अभाव भएपछि सरकारले यस वर्षमात्रै ३५ वटा बाच्छा सर्वसाधारणलाई बिक्री गरेको छ । याक विकास फार्मका लागि चालु आवमा सरकारले रु ५० लाख बजेट उपलब्ध गराएको छ ।

यसैगरी निजी क्षेत्रद्वारा करिब २० वर्षदेखि तत्कालीन टाक्सिन्दु गाविसको रिङ्मुमा सञ्चालित नुम्बुर भ्यू चिज उद्योगले वार्षिक १२ सय किलो चिज उत्पादन गर्दैआएको छ । चिज उद्योगका सञ्चालक फु ग्याल्जेन शेर्पा चिज उत्पादनका लागि ४० वटा चौँरीगाई पालेका बताउनुहुन्छ ।

एक किलो चिज उत्पादनका लागि करिब १० लिटर दूध आवश्यक पर्छ । सो उद्योगले प्रतिकिलो चिज रु एक हजार २०० मा बिक्री गर्दै आएको छ । उक्त चिज उद्योगबाटै खरिद बिक्री हुने गरेको शेर्पाले बताउनुभयो ।

गत वर्ष जिल्लाबाट ३४ ट्रक ९करिब ५००० चौँरीगाई निकासी भएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशुसेवा अधिकृत लेखराज दाहालले जानकारी दिनुभयो । चौँरीगाईपालन व्यवस्थापनका लागि रु १० लाख ९१ हजार बजेट विनियोजन गरिएको छ ।

वि.सं.२०७३ चैत १ मंगलवार ०७:३७ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...