डा. विदुर चालिसे, काठमाडौं
‘खुट्टा भए जुत्ता कति कति !’
आजकल यो कथन नफेरिए पनि यसको खास अर्थ फेरिएको थियो । अर्थ फेरिनुको कारण महिना मुक्तिको उत्सब थियो । उत्सबका बेला–बेलामा सिद्धान्तको व्याख्या सुनिन्थ्यो ।
‘जुत्ता भए खुट्टा त झन कति कति !’
एकदिन महान विदुषीको व्याख्यान सुनिरहेको थिएँ । उनको लय र लवज उत्कर्षमा थियो । भाव र भूमि निष्कर्षमा पुगेको थियो । उनको सभ्यवाणीमा आचार, विचार र सदाचारको एक तपस्यासँग उन्मुक्तिको भ्वाइलेनी रूवाइत ध्वनि निस्किरहेको थियो ।
‘चाउरिएको पुरूष प्रकाश !’
यौन गृहमा एक पूर्व लडाकुको पिरको दृश्यले खपिरहेको एक चाउरिएको पुरूष थिएन । अर्काेतर्फ त्यस्तै चाउरिएको पुरूष हात मोलिरहेको थियो । भनिरहन्थ्यो ।
‘बदनाम भयो !’
प्रवचन कक्षको बाहिर मोची जुत्ता सिलाइरहेको थियो । एक ग्राहकले मोचीलाई सोध्यो ।
‘जुत्ता र खुट्टामा कुन ठुलो, थाहा छ ?’
विसौं वर्षदेखि जुत्ता सिलाइरहेको मोचीको आफ्नै अनुभव थियो । उसले हात उठाएर भन्यो ।
‘डलर कि रूपयाँ ?’
ग्राहक त्यसै अल्मलमा पर्याे । उसको आँखा कहिले चप्पलमा, कहिले बुटमा, कहिले टेनिसुजमा, कहिले कालो जुत्तामा त कहिले डिंगोमा गएर ठोकियो । उसलाई मनमा एउटा प्रश्नले घर गर्याे । सोध्यो ।
‘नेपाली जुत्ता छैन ?’
मोचीलाई खुब रिस उठ्यो । उसले ग्राहकलाई आफ्नो देश, जनता र आफ्नो मुक्तिका लागि युद्ध लड्दा लागेको छर्रा र ढाँडको गोलीको तस्वीर देखाएर भन्यो ।
‘लौ हेर्नाेस, नेपाली जुत्ता !’
ग्राहकले उसलाई नियालेर हेर्याे । केही परिचित जस्तो लागेर अनुहार नेरै पुगेर चश्मा खोलेर सम्झना स्वरूप भन्यो ।
‘ए चाउरे पो !’
वि.सं.२०७८ चैत १२ शनिवार ०७:०३ मा प्रकाशित






























