चितवन । नेपाल कम्युनिष्ट पार्टी-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । उनले आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, “महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुगछौँ ”, उनले भने, “कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।”
भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए । उनले सबै राजनैतिक दलहरु आ-आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको समेत बताए ।
वि.सं.२०७८ चैत १६ बुधवार १३:०२ मा प्रकाशित






























